काठमाडौं, २८ कात्तिक – नेपाली फिल्म उद्योगमा एक नयाँ इतिहास रचिएको छ । विजय बराल अभिनित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको मात्र १३ दिनमा देशव्यापी २५ करोड ४ लाख रुपैयाँको व्यापार गरी नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाउने फिल्म बनेको छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ कमाएको छ । यसअघि नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान ‘कबड्डी ४’को नाममा थियो । तर, ‘पूर्णबहादुरको सारङ्गी’ले ‘कबड्डी ४’लाई पछाडि पार्दै नयाँ कीर्तिमान कायम गरेको छ ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘कबड्डी ४’ले २१ करोड ३८ लाख रुपैयाँ कमाएको थियो भने निर्माताले भने २३ करोड ५० लाख रुपैयाँ कमाएको दाबी गरेका थिए । तर, ‘पूर्णबहादुरको सारङ्गी’ले यी दुवै तथ्यांकलाई उछिन्दै नेपाली फिल्म इतिहासमा नयाँ अध्याय थपेको छ ।
फिल्मको यो सफलतालाई नेपाली फिल्म उद्योगका लागि एउटा ठूलो उपलब्धि मानिएको छ । यसले नेपाली दर्शकले स्वदेशी फिल्मलाई कत्तिको मन पराउँछन् भन्ने कुरा प्रष्ट पारेको छ । फिल्मका निर्माता, निर्देशक र कलाकारहरूले यो सफलताका लागि दर्शकलाई धन्यवाद दिएका छन् ।
‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाइ मात्र गरेको होइन, यसले सर्वाधिक शो पाउने फिल्मको कीर्तिमान पनि बनाएको छ । अहिले पनि मुलुकका ४५० भन्दा धेरै शो यो फिल्मको कब्जामा छ । साथै, फिल्मले एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान पनि बनाएको छ । फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो ।
फिल्मको यो सफलताले नेपाली फिल्म उद्योगमा नयाँ ऊर्जा प्रदान गरेको छ । यसले अन्य फिल्म निर्माताहरूलाई पनि गुणस्तरीय फिल्म बनाउन प्रेरित गर्ने विश्वास गरिएको छ ।

































