काठमाडौं, २८ कात्तिक – नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूलाई पुनः लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्देशनअनुसार १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काटिने बताएका छन् ।

घिसिङका अनुसार, सरकारले बक्यौता उठाउन १५ दिनको समयसीमा दिएको भए पनि उद्योगहरूले अझैसम्म बक्यौता तिर्न आनाकानी गरेका छन् । उनले भने, “हामीले कानुनी रूपमा बक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ, त्यसलाई मान्न हामी बाध्य छौं, तर अब बक्यौता उठाउने जिम्मेवारी नेपाल सरकार र ऊर्जा मन्त्रालयको पनि हो ।”

घिसिङले विद्युत् प्राधिकरणको ४० अर्ब रुपैयाँ बक्यौता रहेको र यसले प्राधिकरणको आर्थिक अवस्था कमजोर बनाएको बताए । उनले भने, “विद्युत् प्राधिकरणको ४० अर्ब बक्यौता छ । अरूलाई तिर्नुपर्ने दायित्व छ । हरेक महिना १० अर्ब रकम आम्दानी गर्न सकिएन भने नगद प्रवाहमा ठूलो समस्या हुन सक्छ ।”

यसअघि पनि प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूको लाइन काटेको थियो । तर, सरकारको निर्णयअनुसार ती उद्योगहरूको लाइन पुनः जोडिएको थियो ।

घिसिङले २८ वटा उद्योग बन्द भए पनि देशलाई खासै असर नपर्ने तर प्राधिकरण डुबे देशै डुब्ने बताए । उनले भने, “विद्युत् बक्यौता नतिर्ने उद्योगहरूको प्राधिकरणको आम्दानीमा १० प्रतिशत मात्रै हिस्सा छ, त्यसो हुँदा त्यो ठूलो होइन । तर, प्राधिकरणले निजी ऊर्जा उत्पादकलाई पैसा तिर्न सकेन भने कति ठूलो असर पर्छ, त्यो गम्भीर विषय छ । जलविद्युतमा आम सर्वसाधारणको लगानी छ, त्यो डुब्न सक्छ । बैंकको लागनी डुब्न सक्छ । त्यसले मुलुकको अर्थतन्त्रमै ठूलो असर पर्छ ।”

घिसिङले आफूले बक्यौता विवादलाई राजनीतिकरण नगरेको दाबी गरे । उनले भने, “उद्योगीहरूले देशको अर्थतन्त्रमा गरेको योगदानको सम्मान गर्दछु । तर, मैले देश र संस्थाको हितमा काम गरेको छु, राजस्व उठाउने उद्देश्यले काम गरेको छु, आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि काम गरेको छैन ।”

प्राधिकरणको यो चेतावनीले उद्योगी व्यवसायीहरूमा तरंग ल्याएको छ । उद्योगीहरूले आफूहरूले सक्दो चाँडो बक्यौता तिर्ने प्रतिबद्धता जनाएका छन् ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0