२९ कात्तिक, दमौली (तनहुँ) । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा बन्द गरिने भएको छ। पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ स्थित छिर्कनेदेखि देउराली खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडक पूर्ण रूपमा बन्द गरिने योजना बनाइएको छ।

मुग्लिन–पोखरा सडक योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार राति ११ बजेदेखि बिहान १ बजेसम्म र बिहान १:३० बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने छ। यस अवधिमा अत्यावश्यक सवारीबाहेक अन्य सबै सवारी साधनको आवागमन रोक्न अनुरोध गरिएको छ। सडक बन्द भएको समयमा आकस्मिक आवश्यकता परे विशेष व्यवस्था गरी सवारी पास गराइने जानकारी पनि उनले दिए।

पाण्डेले सडक निर्माणको कामलाई सहज बनाउन सवारी साधनको लेन अनुशासन कडाइका साथ पालना गर्न र लामबद्ध सवारी साधनले ओभरटेक नगर्न आग्रह गरेका छन्। उनका अनुसार मुग्लिन–पोखरा सडकको पूर्वीखण्डअन्तर्गत छिर्कने खण्डको ६८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ, जसमा १४ वटा साना पुल तथा दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण कार्य सम्पन्न भएको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण पूरा भएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको पाण्डेले जानकारी दिए।

पूर्वीखण्ड निर्माण कार्यको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले पाएको छ। विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि निर्माण कार्य सुरु भएको यो योजना मङ्सिर ३ देखि दुई चरणमा दैनिक चार घण्टा ३० मिनेट बन्द गरिने तयारी गरिएकाले यात्रुहरूले वैकल्पिक व्यवस्था मिलाउन भनिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0