२९ कात्तिक, पोखरा — बेलायती सञ्चार माध्यम द गार्जियनले अब सामाजिक सञ्जाल ‘एक्स’ मा आफ्नो कुनै पनि सामग्री पोस्ट नगर्ने घोषणा गरेको छ। सामाजिक सञ्जालमा उल्लेखनीय उपस्थिती रहेको गार्जियनले यो कदम उठाउनुको पछाडि ‘एक्स’ मा पछिल्लो समय देखिएको नकारात्मकता प्रमुख कारण भएको जनाएको छ। गार्जियनले भनेको छ कि ‘एक्स’ मा हाम्रो सामग्री पोस्ट नगरेर हामी हाम्रो पत्रकारिता प्रबर्द्धनका लागि अन्य स्रोतहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्छौं।

गार्जियनका अनुसार, ‘एक्स’ मा चरम दक्षिणपन्थी प्रचार र नस्लवाद सम्बन्धी सामग्रीको बृद्धि भएको छ। यसले गर्दा त्यहाँ विचलित पार्ने सामग्री धेरै पाइन थालेको छ, जसले गर्दा ‘एक्स’ एक विषाक्त प्लेटफर्म भएको गार्जियनले ठहर गरेको छ। यो निर्णय गर्नु अघि गार्जियनले यस विषयमा लामो समयसम्म विचार गरिरहेको थियो र अन्ततः सामाजिक सञ्जालमा आफ्नो सामग्री पोस्ट नगर्ने निर्णयमा पुगेको छ।

द गार्जियनले आगामी अमेरिकी चुनावलाई समेत आफ्नो निर्णयको आधार बनाएको छ। गार्जियनले ‘एक्स’ को प्रयोगले राजनीतिक वातावरणलाई नकारात्मक प्रभाव पार्ने सम्भावना औंल्याएको छ। ‘एक्स’ का मालिक एलन मस्कले यो प्लेटफर्मलाई राजनीतिक असर पुर्‍याउन प्रयोग गर्न सक्ने जोखिम रहेको द गार्जियनको दाबी छ। मस्कको नेतृत्वमा ‘एक्स’ ले विभिन्न नकारात्मक तत्वहरूको प्रबर्द्धन गरिरहेको आरोपसमेत गार्जियनले लगाएको छ।

हालैको अमेरिकी राजनीतिक घटनाक्रमले पनि गार्जियनको निर्णयलाई थप मजबुत बनाएको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एक्स’ का मालिक एलन मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी (डिओजीई) को प्रमुख पदमा नियुक्त गरिसकेका छन्। ट्रम्पलाई राष्ट्रपतिको चुनावमा सहयोग गरेको मस्कले अब सरकारी संयन्त्रलाई प्रभावकारी बनाउने काममा सहयोग गर्नेछन्। ट्रम्पको प्रशासनलाई सघाउन मस्कको संलग्नताले पनि ‘एक्स’ लाई अझै विवादास्पद बनाएको गार्जियनको तर्क छ।

यद्यपि, गार्जियनले स्पष्ट पारेको छ कि उनीहरूको निर्णय ‘एक्स’ का अन्य प्रयोगकर्ताहरूलाई लागू हुनेछैन। अन्य प्रयोगकर्ताहरूले ‘एक्स’ मा गार्जियनका सामग्रीहरू पोस्ट गर्न सक्नेछन् भने, गार्जियनका पत्रकारहरू पनि समाचार संकलनका लागि ‘एक्स’ लाई माध्यमको रूपमा प्रयोग गर्न सक्नेछन्।

यो निर्णयसँगै द गार्जियनले आफ्नो पत्रकारिताको स्तरलाई थप प्रभावकारी बनाउन डिजिटल मञ्चहरूको विवेकपूर्ण प्रयोग गर्ने योजना अघि सारेको देखिन्छ। समाचार उद्योगमा ‘एक्स’ को विवादास्पद भूमिकाको चर्चा चलिरहँदा गार्जियनको यो कदमले अन्य सञ्चार माध्यमहरूलाई पनि ‘एक्स’ मा आफ्नो उपस्थिति पुनः मूल्यांकन गर्न उत्प्रेरित गर्ने अनुमान गरिएको छ।

समग्रमा, सामाजिक सञ्जालको वातावरण र त्यहाँको सामग्रीको प्रकारलाई ध्यानमा राख्दै गार्जियनले आफ्नो उपस्थितिको मार्ग फेरबदल गरेको छ, जसले पत्रकारिताको क्षेत्रलाई थप सुरक्षित र सन्तुलित बनाउने गार्जियनको उद्देश्यलाई प्रतिबिम्बित गर्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0