२९ कात्तिक, धनगढी । दशैं र तिहारको बेला सुदूरपश्चिम प्रदेशमा जुवा खेल्ने झण्डै ४०० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार, प्रदेशभर खटिएको प्रहरी टोलीले ६ जिल्लामा जुवा खेलिरहेका ३९७ जनालाई २९ लाख रुपैयाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिएको हो। चाडपर्वलाई लक्षित गर्दै प्रहरीले असोज १ गतेदेखि कात्तिक २० गतेसम्म प्रदेशभरि व्यापक रुपमा निगरानी बढाएको थियो।

प्रदेश प्रहरीका तथ्यांकअनुसार सबैभन्दा धेरै पक्राउ पर्नेमा कैलालीका १८४ जना छन्, जसको साथबाट ११ लाख ९ हजार रूपैयाँ बरामद गरिएको छ। यस्तै, कञ्चनपुरबाट १ सय ५९ जनालाई ११ लाख ९० हजार नगदसहित नियन्त्रणमा लिइएको छ। अन्य जिल्लाहरुमा पनि प्रहरीले जुवा खेल्नेमाथि कारबाही गरेको छ, जसमा डडेल्धुराबाट २८ जनालाई चार लाख ४१ हजार नगदसहित, अछामबाट ९ जनालाई ८६ हजार नगदसहित, बझाङबाट ५ जनालाई ६६ हजार नगदसहित, र डोटीबाट १२ जनालाई १२ हजार नगदसहित पक्राउ गरिएको जनाइएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीका अनुसार, चाडपर्वको समयमा प्रदेशका विभिन्न स्थानमा जुवा खेल्ने क्रम बढ्ने भएकाले प्रहरी सक्रियता थप गरिएको हो। यस अवधिमा पक्राउ परेका ३९७ जनालाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक कारबाही थालिएको डीआईजी केसीले बताए।

यो समयमा प्रहरीले जुवातास खेल्ने कार्यलाई नियन्त्रणमा लिन मात्र नभई सर्वसाधारणलाई सामाजिक मर्यादाको उल्लंघनबाट जोगाउन पनि प्रयास गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0