धनगढी, २९ कात्तिक । धनगढी उपमहानगरपालिका–३, चटकपुरमा रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण स्थानीय बासिन्दामा ठूलो त्रास छाएको छ। डिपो नजिकै बसोबास गर्दै आएका धर्मसिंह ऐर र उनकी पत्नी माधवी ऐरले डिपोका कारण सधैं डरमा बस्नुपरेको बताउँदै आएका छन्। डिपोका वरिपरिका स्थानीयले आगलागीको डरले रातभर ननिदाएको उनीहरूको गुनासो छ। धर्मसिंहले डिपो अन्यत्र स्थानान्तरण गर्न पटक–पटक माग गरे पनि कुनै सुनुवाइ नभएको बताएका छन्।
चटकपुरकी माधवी ऐरले घरमा आगो बाल्नसमेत डराउनुपर्ने अवस्था रहेको बताइन्। डिपो नजिकै रहेका अन्य स्थानीयले पनि इन्धन लोड र अनलोडका बेला डरमा बस्नुपर्ने गुनासो गरेका छन्। केही वर्ष अघिसम्म जंगल रहेको यस क्षेत्रमा अहिले बाक्लो बस्ती रहेको छ। डिपो अगाडि रहेको धनगढी–अत्तरिया सडकमा दैनिक हजारौं सवारीसाधन गुड्ने भएकाले दुर्घटनाको जोखिम उच्च रहेको स्थानीयले बताएका छन्।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले मुख्य बजारको बीचमा रहेको डिपोका कारण सुरक्षा चुनौती थपिएको बताए। उनले डिपो नजिकै अस्पताल, विद्यालय, र अन्य व्यवसायिक केन्द्रहरू रहेको हुँदा कुनै दुर्घटनाले सिंगो नगर प्रभावित हुनसक्ने चेतावनी दिएका छन्। हमालले निगमलाई डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको र निगमले स्थानान्तरणको प्रतिबद्धता पनि जनाएको जानकारी दिएका छन्।
डिपो स्थानान्तरणको योजना अघि बढाउन निगमले कञ्चनपुरको पुनर्वास नगरपालिकाको २२ बिघा जग्गा खरिद गर्ने योजना बनाएको थियो। तर, उक्त कार्यान्वयनमा ढिलाइ भएको छ। निगमका उपनिर्देशक प्रदीप यादवले डिपो स्थानान्तरण गर्न जग्गाको समस्या रहेको र हाल रहेको डिपोको जग्गा अपर्याप्त भएकाले भण्डारण क्षमता वृद्धि गर्न समस्या भएको बताए। उनले निगमको सुदूरपश्चिम प्रदेशका लागि आवश्यक ९० दिनको पेट्रोलियम पदार्थ भण्डारण गर्न पनि थप क्षमता आवश्यक रहेको जनाएका छन्।
धनगढीस्थित चटकपुरमा रहेको हालको डिपोमा दुईवटा ७६० किलोलिटर क्षमताका डिजेल भण्डारणका ‘भर्टिकल ट्याङ्क’ र पेट्रोलका लागि ७६० किलोलिटरको एक ट्याङ्क छन्। यिनले सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको भए पनि अत्यधिक जोखिमका कारण डिपो स्थानान्तरण गर्नुपर्ने बाध्यता रहेको निगमका प्राविधिकले बताए।
– रासस



































