दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भावित अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ कार्य ७९ प्रतिशत सम्पन्न भएको छ। खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम परियोजना महाशाखाका प्रमुख गणेशनाथ त्रिपाठीका अनुसार, यो परियोजनामा चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म सो लक्ष्यको ७९ प्रतिशत कार्य पूरा भएको छ। निर्धारित गहिराइमा पुगेपछि मात्र पेट्रोलियम पदार्थको वास्तविक अवस्थाबारे जानकारी प्राप्त हुने बताइएको छ।
यो अन्वेषण कार्य चीन सरकारको दुई अर्ब पचास करोड रुपैयाँ अनुदान सहयोगमा सञ्चालन भइरहेको छ। परियोजनामा खानी तथा भूगर्भ विभागसँगै चाइना जियोलोजिकल सर्भे र सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले सहकार्य गरेका छन्। ड्रिलिङ कार्यको सफलतापछि नेपालमा पहिलो पटक पेट्रोलियम पदार्थको सम्भावनाबारे ठोस निष्कर्ष प्राप्त हुने अपेक्षा गरिएको छ।
यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल आयोजनास्थलमा पुगेर अन्वेषणको प्रगति र यसले भैरवी क्षेत्रलाई पर्न सक्ने प्रभावबारे जानकारी लिएका छन्। मुख्यमन्त्री कँडेलले परियोजनामा भइरहेको प्रगतिबारे चासो देखाउँदै सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।
दैलेखको भूगर्भमा सम्भावित पेट्रोलियम भण्डारको अन्वेषणले देशकै ऊर्जा क्षेत्रमा ठूलो प्रभाव पार्न सक्ने भएकाले यस परियोजनालाई निकै महत्त्वका साथ हेरिएको छ।

































