पोखरा, २९ कार्तिक। कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करीको आरोपमा आइतबार पक्राउ परेका छन्। मन्त्री अधिकारीले प्रदेश तथा संघ सरकारको अनुमति विना नै कात्तिक १३ गते जापान यात्रा गरेका थिए र साथमा अन्य चार जनालाई पनि लगेका थिए। तर, जापानको अध्यागमन विभागले नक्कली कागजातको आरोप लगाउँदै मन्त्री अधिकारीसहित पाँचै जनालाई फिर्ता पठाइदियो। कार्तिक १७ गते नेपाल फर्किएपछि अन्तर्राष्ट्रिय विमानस्थलबाट जनक राई, दावा तामाङ, र कञ्चन देवकोटा पक्राउ परेका थिए भने अधिकारी र अनिता तिमल्सिनालाई भने कागजी प्रक्रिया पूरा गरी छोडिएको थियो।

यसरी विवादमा तानिएका मन्त्री अधिकारीमात्र होइनन्, कोशी प्रदेशसभामा अर्का विवादमा मुछिएका सांसद छन् सोलुखुम्बु निर्वाचन क्षेत्र १(२) बाट निर्वाचित एमालेका सांसद बुद्धिकुमार राजभण्डारी। प्रदेशका पूर्व सामाजिक विकासमन्त्री समेत रहेका राजभण्डारी जुवाखालमा संलग्न रहेको आरोपमा गत साउन २६ गते पक्राउ परेका थिए। काठमाडौँको गौरीघाटस्थित राजु महतको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका भण्डारीसहित अन्य ११ जनालाई जनही १० हजार रुपैयाँ धरौटीमा तीन दिनपछि रिहा गरिएको थियो।

कोशी प्रदेशका अन्य विवादित सांसदमा एमालेका बहालवाला उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामको नाम पनि सामेल छ। २०८० साल भदौमा ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख राजन लिम्बूलाई उनले ज्यान मार्ने धम्की दिएका थिए। हाङ्गामले पार्टी कार्यकर्तामाझ लिम्बू र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवादमा तानिएका हुन्। उनी ताप्लेजुङ १(२) बाट कांग्रेसको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

कांग्रेसकी समानुपातिक सांसद तथा पूर्व राज्यमन्त्री इन्दिरा थापा पनि विवादास्पद छविका पात्र हुन्। प्रदेश सरकारको करिब दुई करोड बजेटबाट धनकुटा पाख्रिवासस्थित आफ्नो निजी जग्गामा घर निर्माण गरेको आरोपमा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेकी छन्। थापाले परिवारको नाममा रहेको जग्गालाई केयर वुमेन नेपालको नाममा ल्याएर भवन निर्माण गराएकी थिइन्, जसमा प्रदेश सरकारले विभिन्न समयको बजेट छुट्याएको थियो।

यस्तै, सहकारी ठगी आरोपमा नेकपा एमालेका सांसद राधाकृष्ण खनाल पनि मुछिएका छन्। उनका छोरा सुमन खनाललाई पक्राउ गरिसकिएको छ। खनाल उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए, जहाँ उनले बचतकर्ता र सेयर सदस्यको झन्डै एक करोड ३८ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

प्रदेशसभाका विवादित सांसदहरूमा कांग्रेसका इस्राइल मन्सुरी पनि सामेल छन्। सभामुखको पद खाली रहेको अवस्थामा उनले सभामुखको लेटरप्याड दुरुपयोग गरी एक पत्र सार्वजनिक गरेका थिए जसमा बजेटसम्बन्धी विवरणमा उनको हस्ताक्षरसहित ‘सभामुख कोशी प्रदेशसभा, नेपाल’ उल्लेख गरिएको थियो। विवादपछि उनले माफी माग्दै पत्र हटाएका थिए।

यी विभिन्न विवादित गतिविधिहरूले कोशी प्रदेशका जनप्रतिनिधिहरूको छवि धमिल्याएको छ। मन्त्रीदेखि सांसदसम्म नै विभिन्न विवादमा मुछिनुले प्रदेशसभाको साखमाथि प्रश्नचिह्न खडा भएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0