खोटाङ । वर्षौंदेखि बन्द रहेको सहरबोटे खानेपानी योजना पुनःसञ्चालन गर्न हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका स्थानीयले सांस्कृतिक कार्यक्रम आयोजना गरी आर्थिक सहयोग सङ्कलन गरेका छन्। सहरबोटे मुहानको पानी च्यास्मीटार र बडहरे क्षेत्रका घरपरिवारमा पुर्याउन स्थानीय उपभोक्ताले हरिबोधिनी एकादशीको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै आर्थिक अभियान सुरु गरेका हुन्।
नगरपालिका प्रमुख विमला राईको उपस्थितिमा सर्वदलीय बैठकबाट चेसकुमार राईको संयोजकत्वमा आर्थिक सङ्कलन मूल समिति गठन गरिएको छ। हरेक योजनामा सरकारको मात्र मुख ताक्नुपर्ने प्रचलनलाई अन्त्य गर्दै उपभोक्ताहरूले स्वतःस्फूर्त योजना पुनःसञ्चालनका लागि पहल थालेका हुन्। समितिका संयोजक चेसकुमार राईका अनुसार सांस्कृतिक कार्यक्रममार्फत अहिलेसम्म रु तीन लाख १७ हजार सात सय १६ संकलन भइसकेको छ र अभियान केही दिनसम्म जारी रहने छ।
विसं २०६२ मा १८ रोपनी खेतसहित खरिद गरिएको सहरबोटे मुहानलाई च्यास्मीटार र बडहरे क्षेत्रमा पानी पुर्याउन यो योजना सुरु गरिएको थियो। खरिद गरिएको मुहान १९ वर्षसम्म एक व्यक्तिका नाममा थियो, जसलाई गत कात्तिक ७ गते नगरप्रमुख राईको पहलमा वडा कार्यालय च्यास्मीटार र बडहरेको नाममा नामसारी गरिएपछि योजना पुनःसञ्चालनको तयारी थालिएको हो।
विसं २०६५ मा सुरु गरिएको यो खानेपानी योजना विसं २०७० माघमा करिब रु ८१ लाखको लागतमा सम्पन्न भएको थियो। दुई सय घरपरिवारलाई पानीको सुविधा दिने उद्देश्यले सञ्चालनमा आएको यो योजना नियमित मर्मत अभावमा बन्द भएको थियो। अब भने स्थानीयको सक्रिय सहभागितामा यसलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक आर्थिक सहयोग जुटाउन प्रयास गरिएको छ।
































