मोरङ, २९ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन प्रणालीलाई नेपालका लागि सबैभन्दा उपयुक्त रहेको बताएका छन्। प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यो शासन प्रणाली स्थापना भएको १० वर्षको अवधि भइसकेकाले यसका राम्रा र कमजोर पक्षहरूको समीक्षा गर्दै आगामी दिनका लागि सुधारको बाटो तय गर्नुपर्ने धारणा व्यक्त गरे।
मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाउन सकेमा शान्ति सुरक्षा, विकास र जनतासँगको निकट सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गरे। उनले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रदेशले पूर्वाधार विकासमा योगदान दिएको र बेरुजुमा कमी आएको उल्लेख हुनु सकारात्मक पक्ष रहेको बताए। संविधान संशोधनको सन्दर्भमा उनले संविधानमा रहेका कमीकमजोरीलाई हटाउँदै राजनीतिक दलहरूले बहुमत हासिल गर्न सक्ने किसिमले संशोधन गर्नुपर्ने सुझाव पनि दिए।
सोही कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभाका न्यायाधिवक्ताहरू र वरिष्ठ अधिवक्ताहरूको सुझावले कानुन निर्माणमा थप सहयोग पुग्ने जानकारी गराए। उनले प्रदेशका ६३ स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी कानुनलाई जनस्तरमा पुर्याउन प्रयास गरिएको जानकारी दिए।
सम्मेलनमा महान्यायाधिवक्ता रमेश वडाल, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, प्रदेशका मुख्य महान्यायाधिवक्ता नारायण वस्ती, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, तथा पूर्व मुख्य न्यायाधिवक्ताहरू बुद्दिबहादुर कटुवाल, चुडामणि आचार्य र सह न्यायाधिवक्ता निर्मला दाहालले संविधान कार्यान्वयनमा सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
दुई दिने सम्मेलनको उद्देश्य प्रदेश कानुन निर्माणमा देखा परेका समस्याहरूको समाधानका उपायहरू खोज्नु, मुख्य न्यायाधिवक्ताको कार्यालयमा देखिने समस्या समाधान गर्नु र सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूले कार्यसम्पादनमा हासिल गरेको अनुभव आदानप्रदान गर्नु रहेको छ। सम्मेलनमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरू, कार्यालय प्रमुख, उच्च र जिल्ला अदालतका न्यायाधीशहरू तथा वारका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।





























