३० कात्तिक, पोखरा। शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज देशभरका गुरुद्वारामा विशेष कार्यक्रम आयोजना गरी मनाइँदैछ। गुरु नानकको जन्म विक्रम संवत १५२६ सालको कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो। उनले शिख धर्मको पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्दै जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको प्रारम्भ गराएका थिए। उनको स्मरण गर्दै हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन गुरु नानकको जन्मजयन्ती मनाउने परम्परा रहेको छ।

गुरु नानकको जन्मजयन्तीका अवसरमा आज गुरुद्वारामा विशेष पूजा अर्चना सहित धार्मिक एवं सामाजिक कार्यक्रमको आयोजना गरिएको छ। समाजमा विद्यमान अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गर्दै आपसी प्रेम र भ्रातृत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले उनले निःशुल्क सामुदायिक भोजन ‘लंगर परम्परा’को थालनी गरेका थिए। निर्गुण उपासनाका पक्षपाती रहेका गुरु नानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन्, यही नै सत्य हो’ भन्ने विश्वासमा दृढ थिए।

यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवर्तक गुरु नानकले मानव जातिलाई दिएको ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ भन्ने सन्देश अझै पनि महत्त्वपूर्ण रहेको बताए। उपराष्ट्रपति यादवले गुरु नानक जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै विद्यमान विकृति, विसङ्गति र विभेदको अन्त्य गरी शान्त, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रेरणा प्राप्त गर्नुपर्नेमा जोड दिए।

उनले गुरु नानक जयन्तीले राष्ट्रिय एकता, सामाजिक समता, साम्प्रदायिक एकता, सहिष्णुता, भाइचारा, शान्ति र सामाजिक न्यायलाई आत्मसात गर्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन्। साथै, उपराष्ट्रपति यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख समुदायलाई सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना पनि व्यक्त गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0