३० कात्तिक, पोखरा। भारतको राजधानी नयाँदिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण प्राथमिक तहका विद्यार्थीहरूको पढाइ अनलाइन माध्यममा सारिएको छ। दिल्लीको वायु गुणस्तर सूचकांक (एक्यूआई) खतरनाक स्तरमा पुगेपछि दिल्लीका मुख्यमन्त्री आतिशी मार्लेनाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय लिएकी हुन्। उनले सोसल मिडिया ‘एक्स’मार्फत अर्को सूचना जारी नभएसम्म अनलाइन कक्षा जारी रहने जानकारी दिएकी छन्।

दिल्लीको वायु प्रदूषण नियन्त्रण गर्न विभिन्न उपाय अपनाइए पनि हाल प्रदूषणको स्तर गम्भीर अवस्थामा पुगेको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ। बोर्डका अनुसार दिल्लीका धेरै स्थानमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि पुगेको छ, जुन अत्यन्तै खराब मानिन्छ। यदि एक्यूआई ४०१ देखि ५०० को बीचमा भएमा यो अवस्थालाई ‘गम्भीर श्रेणी’मा राखिन्छ, जसमा स्वस्थ मानिसहरूलाई समेत श्वासप्रश्वास जस्ता स्वास्थ्य समस्या देखिन सक्ने जोखिम रहन्छ।

बढ्दो प्रदूषणका कारण वातावरणमा विषाक्त तत्वको मात्रा वृद्धि भएको र यसले बालबालिका, वृद्धवृद्धा तथा संवेदनशील व्यक्तिहरूलाई गम्भीर असर पार्न सक्ने भएकाले दिल्ली सरकारले विद्यालयमा भौतिक रूपमा कक्षा सञ्चालन नगरी अनलाइन कक्षामा जोड दिएको हो। यो निर्णयले विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकता दिँदै अध्ययनलाई निरन्तरता दिने प्रयास गरेको देखिन्छ।

यसैबीच, वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय र केन्द्रीय सरकारले थप कदम चाल्नुपर्ने आवाज उठेको छ। दिल्लीको प्रदूषण समस्याको समाधानका लागि यातायात, उद्योग तथा अन्य प्रदूषण स्रोतहरूको व्यवस्थित नियन्त्रण गरिनुपर्ने विज्ञहरूले सुझाएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0