काठमाडौँ । प्रविधिको विकास र करियरलाई प्राथमिकतामा राख्ने संस्कृतिका कारण अहिलेका महिलाहरू आमा बन्न ढिलो गर्न थालेका छन्। कुनै समय आमा बन्नको लागि युवावस्थालाई सर्वोत्तम मानिन्थ्यो भने अहिले भने महिलाहरूले २५ वा ३० वर्षको उमेर पार गरेर मात्रै आमा बन्ने निर्णय गर्ने गरेका छन्। करियरको प्राथमिकता र आत्मनिर्भरता, आर्थिक स्थायित्व, तथा बौद्धिक परिपक्वताको खोजी गर्दा महिलाहरूले ३० वर्षपछिको उमेरलाई मात्र आमा बन्न उपयुक्त ठान्न थालेका छन्। तथापि, उमेरको प्रभाव र स्वास्थ्य चुनौतीलाई ध्यानमा राख्दै, कतिपय चिकित्सकहरूले २५ देखि ३० वर्षको उमेरलाई सन्तान जन्माउनका लागि उपयुक्त मान्ने गरेका छन्।

तर अहिलेको आधुनिक जीवनशैलीमा महिलाहरू आफ्नो करियरलाई सशक्त बनाउने उद्देश्यले विवाह र आमा बन्ने निर्णयलाई पछाडि सार्दैछन्। यसका लागि महिलाहरूले विभिन्न प्रजनन प्राविधिहरूको प्रयोग पनि गर्न थालेका छन् जसमा आईभीएफ, अण्डा फ्रिजिङ आदिको प्रक्रिया लोकप्रिय बन्दै गइरहेको छ। यी विधिहरूले महिलाहरूलाई ४० वर्ष वा त्यसपछि पनि आमा बन्ने अवसर प्रदान गरेको छ। चिकित्सकहरूले भन्छन्, प्रजनन क्षमता उमेरसँगै घट्दै जान्छ, तर प्राविधिक सहयोगको कारण महिलाहरू अहिले पाको उमेरमा पनि गर्भधारणको चाहना पुरा गर्न सकिरहेका छन्।

२५ वर्षको आसपासको उमेरमा आमा बन्नुको फाइदा

चिकित्सकीय दृष्टिकोणले हेर्दा, २२ वर्ष देखी २८ उमेर आमा बन्नका लागि अत्यन्त अनुकूल मानिन्छ। यस उमेरमा महिलाको शारीरिक स्वास्थ्य राम्रो अवस्थामा हुन्छ र अण्डा उत्पादन उच्चतम चरणमा रहेको हुन्छ। प्रसवको पीडालाई सहनसक्ने क्षमता र सन्तानको शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुने सम्भावना पनि यस उमेरमा अधिक रहेको मानिन्छ। तर, सन्तानको पालनपोषणलाई ध्यानमा राख्दा, यस उमेरका आमा आफैँ पूर्णतः परिपक्व भइनसकेकाले सन्तान हुर्काउने विषयमा चुनौतीहरू आउन सक्छन्।

३० देखि ४० वर्षको उमेरमा आमा बन्नुका विशेषता

वर्तमान समयका अधिकांश महिलाहरूले ३० देखि ४० वर्षको उमेरलाई आमा बन्नका लागि रोजिरहेका छन्। यस उमेरसम्म आइपुग्दा अधिकांश महिलाहरू आफ्नो करियरमा स्थापित, आर्थिक रूपमा सुदृढ, र मानसिक रूपमा परिपक्व भएका हुन्छन्। उनीहरूको अनुभवले सन्तानलाई सही मार्गनिर्देशन र परिपक्वता प्रदान गर्न सहयोग पुर्याउँछ। बच्चालाई हुर्काउनमा परिपक्व दृष्टिकोण र तर्कसंगत विचारधारा थपिएको हुन्छ जसले गर्दा बालकलाई एक स्वस्थ वातावरणमा पालनपोषण गर्न सम्भव हुन्छ।

तर यस उमेरमा गर्भधारण गर्दा केही शारीरिक चुनौतीहरू आउन सक्छन्। यो उमेरमा प्रजनन क्षमतामा ह्रास आउने, उर्वर अण्डाको कमी, मधुमेहजस्ता स्वास्थ्य समस्याहरूको सम्भावना रहन्छ। लामो समयसम्म गर्भधारणको प्रयास गर्दा प्रिक्लाम्पसिया र समयअघि जन्मजस्ता जटिलताहरू पनि आउन सक्छन्। कतिपय अवस्थामा महिलाहरूले आईभीएफ जस्ता प्राविधिक सहयोग लिनुपर्ने हुन सक्छ। यद्यपि, यी प्रक्रियाहरू लामो र महँगो पनि हुनसक्छ।

पाको उमेरमा आमाको भूमिका

४० वर्षपछि आमा बन्ने महिलाहरूले आफ्नो सन्तानको पालनपोषणमा विशेष परिपक्वता र जिम्मेवारी अनुभव गरेका हुन्छन्। उनीहरूले आफ्ना सन्तानलाई आर्थिक आत्मनिर्भर र बौद्धिक रुपमा सक्षम बनाउन ध्यान दिने गर्छन्। महिलाहरूले आफ्नो मातृत्व र करियरबीच सन्तुलन बनाइराख्न सक्ने हुनाले, उनीहरू सन्तानलाई समय दिन र राम्रो शिक्षा प्रदान गर्न सक्षम हुन्छन्।

आधुनिक युगमा महिलाहरूले आफ्नो मातृत्वको समय निर्धारणमा स्वतन्त्रता पाएका छन्, तर उमेरसँगै आउने स्वास्थ्य चुनौती र प्रजनन क्षमतामा ह्रासको विषयमा सचेत रहनु जरुरी छ। नियमित स्वास्थ्य परामर्श, स्वस्थ जीवनशैली, र सही समयमै प्रजनन सम्बन्धी जानकारीका कारण महिलाहरू पाको उमेरमा आमा बन्ने निर्णयलाई सहज रूपमा लिन सक्छन्।

– एजेन्सीको सहयोगमा

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0