३० कात्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग रुपन्देहीमा भएको बयानको प्रक्रिया बिहीबार सम्पन्न भएको छ। सुप्रिम सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा लामिछानेलाई मंगलबार रुपन्देही लगिएको थियो, जहाँ उनले तीन दिनमा करिब २३ घण्टा बयान दिए। बयानको प्रक्रिया पूरा भएसँगै उनलाई शुक्रबार पोखरा फिर्ता ल्याइने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले लामिछानेसँग मंगलबार साढे ५ घण्टा, बुधबार ८ घण्टा र बिहीबार झण्डै १० घण्टा बयान लिएको थियो। यो बयानका क्रममा ७४ वटा प्रश्नहरूको उत्तर दिइएको सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलले जनाएका छन्। बयानका क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितसहितका अनुसन्धान अधिकृतहरूको टोली संलग्न थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिएको छ। संसदीय समितिको प्रतिवेदनअनुसार गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको संलग्नतामा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ गैरकानुनी रुपमा खर्च भएको देखिएको छ। उक्त रकममध्ये २ करोड रुपैयाँ लामिछानेकै नाममा झिकिएको दाबी गरिएको छ।

सहकारीमा जम्मा भएका १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ७ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँ अपचलन भएको आरोप लागेपछि सहकारीका १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए। यसै उजुरीका आधारमा सुरु भएको अनुसन्धानमा यसअघि गोर्खा मिडियाका अध्यक्ष जिवी राईसहित २८ जनामाथि मुद्दा दायर गरिएको थियो।

रुपन्देहीमा बयान दिएपछि लामिछानेलाई शुक्रबार विमानबाट पोखरा ल्याइने र थप अनुसन्धान अघि बढाइने जानकारी प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले दिएका छन्।

 

 

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0