लन्डन । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले बेलायतमा ऐतिहासिक सफलता हात पारेको छ। देश-विदेशमा चर्चा कमाएको यस चलचित्र अहिले बेलायतको ‘सिनेवर्ल्ड’ चलचित्र प्रदर्शन गृहमा भव्यताका साथ प्रदर्शन भइरहेको छ। फाट्टफुट्ट मात्र नेपाली चलचित्रहरू प्रदर्शन हुने ‘सिनेवर्ल्ड’ मा यो चलचित्रले दर्शकहरूको अभूतपूर्व साथ पाएको छ। शोको सङ्ख्या दिन प्रतिदिन बढ्दै जाँदा हल खचाखच भरिएका दृश्य सामान्य बनिसकेका छन्।

चलचित्र हेर्न हलमै गएर टिकट काट्ने प्रचलन भए पनि ‘पूर्णबहादुरको सारङ्गी’ को माग यति उच्च छ कि दर्शकले पहिले नै टिकट बुक गर्नुपर्ने अवस्था आएको छ। बाबुछोराको सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्ने यस चलचित्रले बेलायतमा बसोबास गर्ने नयाँ पुस्तालाई पनि आकर्षित गरेको छ।

निर्देशक सरोज पौडेलको लेखन र निर्देशनमा बनेको यो चलचित्रमा विजय बराल, प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ र माओत्से गुरूङको दमदार अभिनयले कथालाई न्याय दिएको छ। १ सय ४५ मिनेट लामो यो चलचित्र हेर्दा समय बितेको पत्तै नलाग्ने दर्शकहरूको प्रतिक्रिया छ।

बेलायतका अल्डरसट, हन्स्लो, फेल्थम, ग्लास्गो, एडिनबरा, रइस्लीपलगायत सहरका दर्जनौँ ‘सिनेवर्ल्ड’ मा प्रदर्शन भइरहेको यस चलचित्रले नेपाली दर्शकहरूलाई मात्र होइन, विदेशमा बस्ने नयाँ पुस्तालाई पनि आकर्षित गरेको छ। सामाजिक सञ्जाल र ‘वर्ड अफ माउथ’ ले पनि चलचित्रको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

चलचित्रले नेपालमा पनि ऐतिहासिक सफलता पाउँदै प्रदर्शनको १४ औँ दिनसम्म २७ करोड रूपैयाँ कमाएको छ। लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको यस चलचित्रले नेपालमा सर्वाधिक कमाउने चलचित्रको कीर्तिमान तोडिसकेको छ। निर्माता विनोद पौडेलले चलचित्रको व्यवसाय अझै बढ्ने विश्वास व्यक्त गरेका छन्।

लन्डनका बुद्धिजीवी नारायण गाउँलेका अनुसार चलचित्रको सबै दृश्यहरू रोचक र प्रभावशाली छन्। चलचित्रको मुख्य पक्ष उत्कृष्ट अभिनय रहेको उनको धारणा छ। विजय बरालले पूर्णबहादुरको चरित्रलाई जीवन्त बनाएको भन्दै सबैले प्रशंसा गरेका छन्।

विदेशी भूमिमा समेत ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपाली चलचित्र उद्योगको स्तर र सम्भावना उजागर गरेको छ। बेलायतपछि यो चलचित्र अन्य देशहरूमा पनि सफल हुने अपेक्षा गरिएको छ।पूर्णबहादुरको सारङ्गी

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0