३० कात्तिक, पोखरा। मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सफलतापूर्वक सम्पन्न भएको छ । यस अभियानका क्रममा दुई सय ३६ जना सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरूको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये एक सय ७९ पुरुष, ५७ महिला रहेका छन् भने पाँच बालिका र चार बालक पनि उद्धार गरिएका छन् ।
यस उद्धार यात्राको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते बालुवाटारमा गरेका थिए भने समापन पनि उनकाे प्रमुख आतिथ्यतामा आगामी मङ्सिर ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा गरिने भएको छ । उद्धार कार्य असोज २८ गते झापाको मेची पुलबाट सुरु भएको थियो ।
सातै प्रदेशमा उद्धारको पहुँच
यो उद्धार यात्राले देशभरिका सातवटा प्रदेशमा रहेका ४४ जिल्लामा पुगेर सडक आश्रितहरूको उद्धार कार्य सम्पन्न गरेको हो । कोशी प्रदेशबाट ४४ जना, मधेस प्रदेशबाट ४० जना, बागमती प्रदेशबाट ५७ जना, गण्डकी प्रदेशबाट ३५ जना, लुम्बिनी प्रदेशबाट ४९ जना, कर्णाली प्रदेशबाट तीन जना र सुदूरपश्चिम प्रदेशबाट आठ जना उद्धार गरिएका छन् ।
अभियानमा ४७ जना सहभागी
यस राष्ट्रिय उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा, मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको टोलीले सहभागिता जनाएका थिए । यस यात्राको सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोरेको थियो । यस अघि पनि मानवसेवा आश्रमले २०७९ सालमा पहिलो र २०८० सालमा दोस्रो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सञ्चालन गरिसकेको छ ।
१० हजारभन्दा बढी उद्धार, ४ हजारभन्दा बढीको पुनर्मिलन
मानवसेवा आश्रमले स्थापना कालदेखि नै आफ्नै लागि केही गर्न नसक्ने, बेसहारा, असहाय, मानसिक तथा शारीरिक रूपमा कमजोर, अनाथ तथा अभिभावकविहीन व्यक्तिहरूको उद्धार गर्दै आएको छ । हालसम्म १० हजार सात सय ६४ जना सहयोगापेक्षीहरूको उद्धार गरिएको छ जसमा चार हजार दुई सय १६ जनालाई परिवारसँग पुनर्मिलन गराई घरमै पुनःस्थापना गरिएको छ भने ८७७ जनाको सामुदायिक पुनःस्थापना गरिएको छ ।
अत्यन्त कमजोर स्वास्थ्य अवस्थामा रहेका तथा मानसिक असन्तुलनका कारण परिवारसँग पुनर्मिलन सम्भव नभएका एक हजार नौ सय छ जना व्यक्ति आश्रमका २५ सेवा केन्द्रहरूमा आश्रित छन् र उनीहरूलाई स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । हालै उद्धार गरिएका दुई सय ३५ जना सहयोगापेक्षीहरूलाई पनि आश्रमका १५ सेवा केन्द्रहरूमा खानपान, लत्ताकपडा, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको छ ।
‘सडक पेटीमा बस्न नपरोस्’ नाराका साथ सम्पन्न
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ सम्पन्न तेस्रो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ ले मानवताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ । फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्माका अनुसार यो अभियानले मानवताको अभियानलाई संस्थागत गर्न मद्दत पुर्याएको छ ।
सडक आश्रित मुक्त नेपाल बनाउने सरकारी संकल्प
नेपाल सरकारको आव २०८१–८२ को नीति तथा कार्यक्रममा नेपाललाई सहयोगापेक्षी सडक आश्रित मुक्त राष्ट्र बनाउने संकल्पलाई साकार पार्न यस उद्धार यात्राले ठोस आधार तयार पारेको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताएका छन् । विसं २०६९ मा मकवानपुर, हेटौँडामा स्थापना भएको मानवसेवा आश्रमले देशका १९ जिल्लाका २५ सेवा केन्द्रमार्फत उद्धार कार्य, संरक्षण तथा पारिवारिक पुनर्मिलनको कार्यलाई निरन्तरता दिँदै आएको छ ।
– रासस

































