३० कात्तिक, काठमाडौं । असोज दोस्रो साता परेको अविरल वर्षा र बाढी–पहिरोका कारण नेपालको अर्थतन्त्रमा ठूलो आर्थिक क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक मूल्यांकन अनुसार, बाढी र पहिरोले देशमा करिब ४६ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ बराबरको आर्थिक हानि पुर्याएको छ।
यस मूल्यांकनमा भौतिक पूर्वाधार, निजी आवास, विद्यालय, अस्पताल, कृषि, पशुपालन र सिँचाइ क्षेत्रमा ठूलो मात्रामा क्षति पुगेको उल्लेख छ। विज्ञहरूको अनुसार यो क्षतिले मुलुकको अर्थतन्त्रमा दीर्घकालीन असर पुर्याउने सम्भावना छ। मनसुनको अन्त्यतिर परेको यस बाढीले २ सय ४९ जनाको ज्यान लिएको थियो भने १८ जना अझै बेपत्ता छन्। साथै, १ सय ७७ जना घाइते भएका छन्।
बाढी–पहिरोले पूर्वाधार क्षेत्रमा मात्र ३९ अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ। देशभरका ४४ वटा पुलमा १ अर्ब ४ करोड बराबरको क्षति पुगेको छ। साथै, ४ सय ४६ दूरसञ्चार संरचनामा १५ करोड २३ लाख, खानेपानी तथा सरसफाइका १ हजार ६ सय ७८ संरचनामा ५ अर्ब ९० करोड ६० लाख, र जलविद्युत्का २६ संरचनामा ३ अर्ब १ करोड बराबरको क्षति पुगेको देखिन्छ। यस्तै, देशभरि ४१ स्थानमा रहेका सडक संरचनामा २ अर्ब ७९ करोड बराबरको क्षति पुगेको प्राधिकरणले जनाएको छ।
यस बाढीले देशभरका ५ हजार ९ सय ९६ घरमा पूर्ण र १३ हजार ४९ घरमा आंशिक क्षति पुर्याएको छ। बाढीबाट १० हजार ८ सय ७ जनाले आफ्नो घर गुमाएका छन् भने १६ हजार २ सय ४१ जना प्रभावित भएका छन्। स्वास्थ्य क्षेत्रतर्फ ६ भवन पूर्ण र ३३ भवनमा आंशिक क्षति पुगेको छ, जसको आर्थिक मूल्य २ करोड १७ लाख रहेको छ। शिक्षातर्फ पनि ६ भवन पूर्ण रूपमा र १ सय ३६ संरचनामा आंशिक क्षति पुगेको छ, जसको आर्थिक भार ७ करोड २ लाख रुपैयाँ अनुमान गरिएको छ।
कृषि क्षेत्रमा बाढी र पहिरोले ५ अर्ब ८८ करोड २८ लाख बराबरको क्षति पुर्याएको छ भने सिँचाइमा १ अर्ब ३५ करोड बराबरको हानि पुगेको छ। यसरी हेर्दा, बाढी र पहिरोले पुर्याएको यो ठूलो क्षति देशको विकासमा तत्कालिन मात्र नभई दीर्घकालीन प्रभाव पुर्याउने देखिन्छ।





























