१ मंसिर, पोखरा। सहकारी संस्थाको रकम अपचलन आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरोध प्रदर्शनमा उत्रिएको छ। लामिछानेको पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै पार्टीले प्रदर्शनलाई सशक्त बनाउने उद्देश्य राखेको बताउँदै आएको छ। यसै सन्दर्भमा उपसभापति डीपी अर्यालले सरकारले लामिछानेप्रति राजनीतिक प्रतिशोध साँधेको भन्ने विषय स्थापित गराउन सफल भएको दाबी गरेका छन्। अर्यालले यो आन्दोलन रवि लामिछानेको मात्रै नभएर राष्ट्रिय मुद्दालाई अघि बढाउने सिलसिलामा भएको प्रष्ट्याएका छन्।

सभापति लामिछानेको पक्राउपछि पार्टीको प्रदर्शनलाई अदालतलाई प्रभावित पार्नको लागि भएको भन्दै आलोचना भइरहेको छ। तर, अर्यालले आफ्नो आन्दोलन प्रणालीलाई सुधार गर्ने उद्देश्यले गरिएको भन्दै बचाउ गरेका छन्। उनले लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्नुपर्ने माग राख्दै, “हामीले अनुसन्धान नगर्न भनिरहेका छैनौं, मात्र बाहिर राखेर अनुसन्धान गरियोस्,” भनेका छन्। उनका अनुसार यस कदमले कानूनप्रति नागरिकको विश्वास कायम राख्न मद्दत पुग्नेछ।

सहकारी अनियमितता प्रकरणमा रास्वपाले संसद र सरकारको भूमिकालाई प्रश्न गर्दै आएको छ। उपसभापति अर्यालले लामिछानेको भूमिका सहकारीमा प्रत्यक्ष रुपमा पैसा चलाएको प्रमाण फेला नपरेको बताएका छन्। संसदले बनाएको विशेष छानबिन समितिको प्रतिवेदनलाई उद्धृत गर्दै अर्यालले सहकारी अनियमिततामा अन्य उच्च तहका व्यक्तिहरूको संलग्नता हुँदा पनि लामिछानेमाथि मात्रै आक्रमण भएको बताएका छन्। “यो घटना रवि लामिछानेमाथि मात्र केन्द्रित गर्नुलाई राजनीतिक प्रतिशोध हो,” अर्यालले बताए।

अदालतले लामिछानेको हिरासत म्याद थप गर्दा पार्टीले किन सडक आन्दोलन गरिरहेको भन्ने प्रश्नमा अर्यालले यसलाई लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको लागि गरिएको बताएका छन्। उनका अनुसार, पार्टीले नागरिक समाज, मिडिया, र न्यायिक प्रणालीलाई समर्थन जनाउने तरिकाले नै आफूहरू अगाडि बढेको बताए। “हामीले व्यक्तिको लागि होइन, प्रणालीको सुधारको लागि यो आन्दोलनलाई अघि बढाएका हौं,” उनले भने।

रास्वपामा आन्दोलनको प्रभावकारिताबारे आन्तरिक असन्तुष्टि पनि देखा परेको छ। केही प्रदेश कमिटीले पार्टी आन्दोलनको प्रभाव न्यून भएको आरोप लगाएका छन्। तर, अर्यालले आन्दोलन शान्तिपूर्ण, बौद्धिक, र सभ्य बनाउन लागेको बताएका छन्। उनले रास्वपाले नेपालको राजनीतिक परिपाटीमा सभ्य र बुद्धिप्रधान आन्दोलनको अवधारणा स्थापित गर्न प्रयासरत रहेको उल्लेख गरे। “हाम्रो उद्देश्य पार्टीका मुद्दालाई शान्तिपूर्ण तरिकाले सम्पूर्ण नेपालभरि जनतासम्म पु¥याउनु हो,” उनले भने।

लामिछानेको मुद्दामा मात्रै केन्द्रित नभई रास्वपाले राष्ट्रिय मुद्दाहरूमा आवाज उठाउन लागेको पनि उपसभापति अर्यालले स्पष्ट पारेका छन्। उनले मिटर ब्याजपीडित, लघुवित्त पीडित, र बचतकर्ताको रकम फिर्ता गर्ने जस्ता राष्ट्रिय मुद्दाहरूलाई पनि पार्टीले जोड दिने बताएका छन्। “हामीले संसद र सरकारलाई दबाब दिएर पाँच लाख मुनिको बचत रकम फिर्ता गर्ने निर्णय गराएका थियौं,” अर्यालले भने।

आगामी आन्दोलनको क्रममा पार्टीले दोस्रो चरणको प्रदर्शन घोषणा गर्न लागेको र यसले राष्ट्रिय मुद्दामा सरकारलाई जिम्मेवार बनाउन मद्दत पुर्‍याउने उनले बताए। उनले भने, “रास्वपा रवि लामिछानेको मात्रै मुद्दामा सीमित छैन। हामी सबैलाई जोडेर राष्ट्रिय मुद्दामा आवाज उठाउने हाम्रो लक्ष्य हो।”

पार्टीका नियमित कार्यक्रमहरू प्रभावित भए पनि महाधिवेशनका गतिविधि भने सुचारु रहेको उपसभापति अर्यालले बताए। उनका अनुसार काठमाडौंमा आगामी मंसिर १ गते हुने जिल्ला भेलाले महाधिवेशनलाई अघि बढाउने छ। सभापति लामिछाने हिरासतमा रहे पनि महाधिवेशनलाई पूर्वनिर्धारित मितिमा नै सम्पन्न गर्ने पार्टीको योजना रहेको जानकारी पनि उनले दिए। “हामीले २०८२ वैशाखमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेका छौं,” उनले भने।

रास्वपा आगामी उपनिर्वाचनका तयारीका लागि स्थानीय तहमा तालमेलको संभावना भए पनि कुनै ठोस निर्णय नगरेको पनि अर्यालले प्रस्ट्याएका छन्। “हामीले कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय लिएका छौं,” उनले भने।

रास्वपाका उपसभापति अर्यालको भनाइ अनुसार, रवि लामिछाने र पार्टीको मुद्दा एकअर्कासँग जोडिएको भए पनि पार्टी रविको विचारधारामा मात्रै आधारित नभई राष्ट्रिय मुद्दामा सक्रिय रुपमा अघि बढिरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0