३ मंसिर, पोखरा। तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेदेखि देउराली सडकखण्ड मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ। निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत सडक निर्माण कार्यलाई तीव्रता दिन सडक बन्दको व्यवस्था गरिएको हो।

मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार, छिर्कने-देउराली सडकखण्डमा दैनिक दुई चरणमा सवारी आवागमन बन्द गरिनेछ। पहिलो चरणमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुनेछ। त्यसपछि राति १ बजेदेखि १ः३० बजेसम्म सडक खुला गरिनेछ। दोस्रो चरणमा राति १ः३० बजेदेखि बिहान ४ बजेसम्म पुनः सडक बन्द गरिने छ। आकस्मिक अवस्थाका लागि विशेष सवारी पासको व्यवस्था गरिएको पाण्डेले जानकारी दिए।

इन्जिनियर पाण्डेले अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनका लागि सडक पूर्ण रूपमा बन्द हुने र लेन अनुशासन पालन गर्नुपर्ने स्पष्ट गरे। उनले सवारी चलाउँदा लामबद्ध हुने अवस्थामा जथाभाबी ओभरटेक नगर्न समेत आग्रह गरे।

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत काम सम्पन्न भइसकेको छ। यो खण्डमा १४ वटा साना पुल निर्माण कार्य सकिएको छ भने दुई ठूला पुल र १०३ कल्भर्ट पनि निर्माण सम्पन्न भइसकेका छन्। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको ४५ प्रतिशत काम सकिएको जानकारी पाण्डेले दिए।

पूर्वी खण्डको निर्माण कार्य विसं २०७७ माघ १७ गते ठेक्का सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो। चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले निर्माण जिम्मा पाएको सडकको ६८ प्रतिशत काम पूरा भएको छ। निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न सडक बन्दको निर्णय गरिएको हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0