३ मंसिर, काठमाडौं। चाडपर्वको कारण कात्तिक महिनामा पनि घरजग्गा कारोबारमा अपेक्षित सुधार हुन सकेन। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनामा लिखत पारित र राजस्व संकलनमा केही सुधार देखिए पनि समग्रमा घरजग्गा कारोबार अझै कमजोर अवस्थामा रहेको छ।

गत वर्षको तुलनामा चालु वर्षको कात्तिकमा लिखत पारित २६.६८ प्रतिशत र राजस्व संकलन २४.९६ प्रतिशतले वृद्धि भएको छ। कात्तिकमा ३३ हजार ५१५ लिखत पारित हुँदा २ अर्ब ७० करोड ४० लाख राजस्व संकलन भएको छ। यसले केही सकारात्मक सङ्केत दिएको भए पनि समग्र आर्थिक गतिविधि भने अपेक्षित रूपमा बढ्न सकेको छैन।

चाडपर्वको समयमा कार्यालयका काम प्रभावित हुँदा असोज र कात्तिक दुवै महिनामा कारोबारमा कमी देखिएको छ। असोजमा ३० हजार ५२७ लिखत पारित हुँदा ३ अर्ब ८ करोड १२ लाख राजस्व संकलन भएको थियो। कात्तिकमा लिखत पारित बढे पनि राजस्व भने घटेको देखिन्छ।

सरकारले भूउपयोग नियमावली संशोधन र नेपाल राष्ट्र बैंकले आवास कर्जा नीतिमा सहजीकरण गरे पनि घरजग्गा कारोबारमा उल्लेखनीय सुधार देखिएको छैन। राष्ट्र बैंकले आवास विकास परियोजनाका लागि कर्जामा जोखिम भार घटाएको छ भने बैंकहरूले एकल अंकको स्थिर ब्याजदरमा कर्जाको अफर ल्याएका छन्। तर, समग्र अर्थतन्त्रको सुस्तताका कारण कारोबार अझै सुधारोन्मुख अवस्थामा छ।

लिखत पारितमा तराईका मालपोत कार्यालय अगाडि देखिएका छन् भने राजस्व संकलनमा काठमाडौं उपत्यकाका कार्यालय अग्रस्थानमा छन्। कात्तिकमा भूमि सुधार तथा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा धेरै १ हजार २ सय ४६ लिखत पारित भएको छ। तर, राजस्व संकलनमा लगनखेल मालपोत कार्यालयले २४ करोड ५८ लाख राजस्वसहित अग्रस्थान लिएको छ।

कात्तिकमा संकलित कुल राजस्वमध्ये सेवा करबाट १७ करोड ८३ लाख, रजिस्ट्रेसन दस्तुरबाट १ अर्ब ८२ करोड ९५ लाख, र पूँजीगत लाभकरबाट ९३ करोड ७८ लाख संकलन भएको छ। चाडपर्वपछि घरजग्गा कारोबार चलायमान हुने अपेक्षा गरिएको भए पनि यो क्षेत्र अझै सुस्त रहेको विभागको तथ्यांकले देखाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0