३ मंसिर, विराटनगर। कोशी नामको विरोध गर्दै आएको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलन फेरि सुरु गरेको छ। समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो दिवसका रूपमा मनाउने घोषणा गरेको छ।

समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेज गरी पुनः नामाङ्कन प्रक्रिया सुरु नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएको छ। आन्दोलनका कार्यक्रमअन्तर्गत प्रदेशसभा र मुख्यमन्त्री कार्यालय घेराउदेखि अनिश्चितकालीन हडतालसम्मको योजना रहेको संघर्ष समितिले जानकारी दिएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिले कोशी नामको पक्षमा मतदान गर्ने प्रदेश सांसदलाई सार्वजनिक कार्यक्रममा सहभागी नगराउन र गराए प्रतिरोध गर्ने घोषणा गर्‍यो। आन्दोलनरत पक्षले कोशी नाम हटाउन माग गर्दै कार्यालय प्रमुख र कर्मचारीलाई उक्त नाम प्रयोग नगर्न आग्रह गरेको छ। माग नमान्ने कर्मचारीलाई स्पष्टीकरणको कारबाही गरिने चेतावनी पनि दिएको छ।

तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँगको सहमति पछि शान्तिपूर्ण गतिविधिमा रहेको संघर्ष समितिले अब नामाङ्कन प्रक्रिया सुरु नगरे थप कडा कदम चाल्ने जनाएको छ। संघर्ष समितिको चेतावनीपछि प्रदेशको राजनीतिक माहोल पुनः तातिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0