३ मंसिर, काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ। ८३ वर्षीय ढुंगानाको आइतबार कलेजोसम्बन्धी समस्याको उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो।
उनका छोराहरू निमेष र निशेषले दागबत्ती दिए। अन्त्येष्टिका क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो। दिवंगत ढुंगानाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।
श्रद्धाञ्जली व्यक्त गर्न पूर्वराष्ट्रपति डा. रामवरण यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत विशिष्ट व्यक्तिहरू पुगेका थिए।

ढुंगाना २०४८ देखि २०५१ सालसम्म सभामुख थिए। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनको निधनमा शोक व्यक्त गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

































