५ मंसिर, पोखरा। नेपाली नाटक र फिल्म क्षेत्रका लोकप्रिय अभिनेता प्रकाश घिमिरे पछिल्ला दिनमा एकपछि अर्को फिल्ममा व्यस्त छन्। दशैंमा प्रदर्शनमा आएका उनका दुई फिल्म ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएका छन्। अहिले उनी सामाजिक विषयमा आधारित फिल्म ‘अग्निदहन’को तयारीमा व्यस्त छन्।

‘अग्निदहन’मा संलग्नताको बारेमा पोखरामा पत्रकार भेटघाटमा उनले भने, ‘‘घामपानी’को सुटिङ सकिएपछि निर्माता घनश्याम लामिछानेजीले कामका लागि प्रस्ताव गर्नुभएको थियो। सामाजिक विषयमा फिल्म बनाउने जानकारी पाएपछि सहमत भएँ। म आफैं सामाजिक विषयमा चासो राख्ने भएकाले यो फिल्ममा काम गर्न मन लाग्यो। टिम पनि मेरो परिचित भएकाले सहज महसुस भयो।’

फिल्मको ट्रेलरले समाजमा रहेको बोक्सी प्रथामाथि प्रश्न उठाएको छ। घिमिरेका अनुसार ‘बोक्सी हुँदैन, मानसिक रोगलाई चिन्न नसकेको कारण यस्तो आरोप लगाइन्छ।’ उनले थप भने, ‘‘पहिले डाक्टर र धामीझाँक्रीले रोग चिन्न नसक्दा महिलालाई बोक्सी भनिन्थ्यो। तर, यो मानसिक रोगको समस्या हो, जसलाई गलत नाम दिइएको हो।’’

उनले समाजमा ‘बोक्सी’को आरोप लगाइने परिपाटीलाई मानवको कमजोरीको उपज भने। ‘‘मानिसले रोगलाई बुझ्न नसक्दा अनेक आरोप लगाइन्छ। यस्तो अवस्थामा मानसिक रोगको उपचार गर्नुको सट्टा यातना दिनु गलत हो,’’ उनले भने।

सामाजिक विषयमा केन्द्रित ‘अग्निदहन’ फिल्मले पुरातन सोचलाई तोड्दै वैज्ञानिक दृष्टिकोण प्रस्तुत गर्ने प्रयास गरेको घिमिरेले बताए। उनका अनुसार यो फिल्म समाजमा चेतना फैलाउने माध्यम बन्ने विश्वास छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0