काठमाडौं, मंसिर ६ – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का पहिलो चार महिनामा जम्मा १३ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ। महानगरले गौरवका योजना र स्वर्णिम योजना बाहेक २ अर्ब ७० करोड ३३ लाख ८० हजार रुपैयाँ खर्च गरेको हो। कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको बजेट भएको महानगरले गौरवका ११ योजना र स्वर्णिमका ३० योजनालाई समेटेर बजेटमा प्राथमिकता दिएको थियो।

महानगरले आर्थिक विकासतर्फ ७३ करोड ३३ लाख ७१ हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा १५.२८ प्रतिशत अर्थात् ११ करोड २० लाख ७० हजार खर्च गरेको छ। सामाजिक विकासतर्फ ४ अर्ब ९९ करोड ६८ लाख विनियोजनमा ७.७२ प्रतिशत अर्थात् ३८ करोड ५६ लाख ३४ हजार खर्च भएको छ। पूर्वाधारतर्फ ७ अर्ब ६२ करोड ५० लाख ११ हजारको बजेटमा १०.३१ प्रतिशत अर्थात् ७८ करोड ६२ लाख ३४ हजार खर्च गरिएको छ।

त्यस्तै सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा २ अर्ब ९६ करोड ५८ लाखमध्ये ५.५३ प्रतिशत अर्थात् १३ करोड ३८ लाख ७४ हजार खर्च भएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ भने विनियोजित बजेटको ३०.९९ प्रतिशत अर्थात् १ अर्ब २५ करोड ५५ लाख ६५ हजार खर्च गरिएको छ।

महानगरका वित्त विभागका अधिकारीका अनुसार गौरव र स्वर्णिम योजनामा खर्चको विवरण हालसम्म एकीकृत रूपमा देखिएको छैन। ती योजनाको अन्तिम खर्च विवरणले समग्र खर्च वृद्धि हुने विश्वास गरिएको छ।

राजस्व संकलन एक चौथाइ मात्रै

राजस्व संकलनतर्फ महानगरले १२ अर्ब ९० करोड ६३ लाख २५ हजारको लक्ष्य राखेकोमा चार महिनामा ३ अर्ब १६ करोड ७८ लाख ११ हजार मात्र संकलन भएको छ, जुन २४.५४ प्रतिशत हो। आन्तरिक राजस्व संकलनतर्फ ८ अर्ब ३ करोड ५७ लाखको लक्ष्य राखिएकोमा १ अर्ब ९९ करोड ४६ लाख मात्र संकलन भएको छ। यसमध्ये सबैभन्दा धेरै ९४ करोड ८५ लाख रुपैयाँ घरबहाल कर र ५० करोड ३१ लाख सम्पत्ति कर संकलन गरिएको छ।

महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वतर्फ २ अर्ब ५० करोड २६ लाखको लक्ष्य राखेकोमा १८.४८ प्रतिशत अर्थात् ४६ करोड २४ लाख मात्र संकलन भएको छ। आन्तरिक अनुदानमा भने २ अर्ब ३६ करोड ७८ लाखको लक्ष्यमध्ये ७१ करोड ४९ लाख ४४ हजार संकलन भइसकेको छ।

गत वर्षको खर्च प्रगति

गत आर्थिक वर्ष २०८०/८१ मा काठमाडौं महानगरले २४ अर्ब १९ करोड ८४ लाखको बजेट विनियोजन गरेको थियो, जसमा ५१ प्रतिशत मात्र खर्च भएको थियो। त्यसमा कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ७३ प्रतिशत बजेट खर्च भएको थियो भने आर्थिक विकासतर्फ न्यूनतम ३८ प्रतिशत मात्र खर्च भएको थियो। सामाजिक विकास क्षेत्रमा ६० प्रतिशत, सुशासनमा ३२ प्रतिशत र पूर्वाधार विकासतर्फ ४६ प्रतिशत बजेट खर्च भएको थियो।

अन्य प्रगति विवरण

काठमाडौं महानगरले २०८०/८१ मा ८ सय ५७ जनालाई रोजगार प्रदान गरेको छ। सार्वजनिक निर्माणतर्फ ५५ किलोमिटर सडक कालोपत्र, १२ किलोमिटर ढल निर्माण र १६ वटा भवन निर्माण सम्पन्न गरेको छ। सार्वजनिक–निजी साझेदारीमार्फत रोजगार सिर्जना र सम्पदा संरक्षणमा पनि प्रगति हासिल गरेको छ।

यस वर्षको प्रारम्भिक प्रगति भने औसतभन्दा न्यून देखिएको छ। महानगरका योजनाहरु अझ प्रभावकारी कार्यान्वयनको आवश्यकता महसुस गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0