डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अर्बपति एलन मस्कलाई विशेष जिम्मेवारी प्रदान गरेका छन्। ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा प्रस्ताव गरेको काल्पनिक विभाग DOGE अर्थात् सरकारी दक्षता विभागलाई वास्तविकतामा रुपान्तरण गर्दै यसको जिम्मेवारी एलन मस्क र विवेक रामास्वामीलाई सुम्पिएका छन्।

DOGE को मुख्य उद्देश्य अमेरिकाका सरकारी निकायहरुलाई थप प्रभावकारी बनाउँदै कर्मचारीतन्त्रको जटिलता हटाउने, अनावश्यक खर्च कटौती गर्ने र प्रशासनिक प्रणालीलाई छरितो बनाउनु हो। यसले सरकारलाई बाह्य रुपमा सहयोग गर्ने र संघीय इकाइहरुलाई पुनःसंरचना गर्दै धेरै सरकारी एजेन्सीहरु बन्द गर्ने अपेक्षा गरिएको छ।

यस विभागले योग्य र दक्ष जनशक्तिको खोजी सुरु गरेको छ। DOGE ले बिहीबार आफ्नो सोसल मिडिया प्लाटफर्म एक्समार्फत जागिरका लागि आवेदन खुलाएको घोषणा गरेको छ। पोस्टमा विभागले उच्च आईक्यू भएका, हप्तामा ८० घण्टाभन्दा बढी काम गर्न इच्छुक व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत विवरण सिधै एक्सको डाइरेक्ट मेसेजमा पठाउन आग्रह गरेको छ। आवेदन गर्ने सर्वोत्कृष्ट १ प्रतिशत उम्मेदवारहरुको समीक्षा एलन मस्क र विवेक रामास्वामीले गर्नेछन्।

DOGE को पोस्टमा विभागलाई पार्टटाइम आइडिया सर्जकको आवश्यकता नरहेको स्पष्ट गरिएको छ। उनीहरुले यस्तो जिम्मेवारीलाई नयाँ क्रान्तिकारीको रुपमा लिएका छन्। विभागले उम्मेदवारको अनुभव र शैक्षिक योग्यताको बारेमा विस्तृत जानकारी भने उपलब्ध गराएको छैन।

DOGE को एक्स अकाउन्ट यही हप्ताको सुरुमा खोलिएको हो। छोटो समयमा नै यस अकाउन्टमा १४ लाख फलोअर्स पुगेका छन्। अमेरिकामा सरकारी व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले नयाँ सरकारी दक्षता विभागको स्थापना भएपछि यसले ट्रम्प प्रशासनको प्राथमिकतामा रहेका योजनाहरुलाई कत्तिको सफल बनाउने हो भन्नेमा धेरैको ध्यान केन्द्रित छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0