६ मंसिर, काठमाडौं। नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा ९ महिनामै ४२ कम्पनी थपिएका छन्। बोर्डले फागुन २० यता थपिएका कम्पनीसहित पाइपलाइनमा रहेका कम्पनीहरुको सूची सार्वजनिक गरेको छ। अब आईपीओ निष्कासनको स्वीकृति पर्खिरहेका कम्पनीको संख्या ७७ पुगेको छ।
रमेशकुमार हमालको अध्यक्षतामा आईपीओ स्वीकृतिको काम अघि बढेको भए पनि उनको पदावधि सकिएपछि बोर्डले हालसम्म कुनै नयाँ स्वीकृति प्रदान गरेको छैन। यसबीचमा आवेदन दिएका पुराना र नयाँ कम्पनीहरु गरी कुल ७७ कम्पनीको सूची तयार भएको बोर्डका अधिकारीले जानकारी दिएका छन्।
पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये सबैभन्दा धेरै हाइड्रोपावर सेक्टरका छन्। यो क्षेत्रका मात्रै ३७ कम्पनीले आईपीओ निष्कासनका लागि स्वीकृति मागेका छन्। होटल तथा पर्यटन क्षेत्रका ५, लगानी क्षेत्रका २, उत्पादन तथा प्रशोधन क्षेत्रका १३, माइक्रोफाइनान्स १, माइक्रोइन्स्योरेन्स ४, र अन्य क्षेत्रका १५ कम्पनीले पनि आईपीओ स्वीकृतिका लागि आवेदन दिएका छन्।
कम्पनीहरुले जम्मा ४४ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ बराबरको आईपीओ स्वीकृतिका लागि आवेदन गरेका छन्। यसअन्तर्गत ३१ करोड ७८ लाख ९३ हजार कित्ता सेयर निष्कासन हुनेछ। अधिकांश कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँमा आईपीओ निष्कासनको प्रस्ताव गरेका छन्। तर, केही कम्पनीले प्रिमियममा सेयर प्रस्ताव गरेका छन्।
उदाहरणका लागि, अकामा होटलले ५० रुपैयाँ, जगदम्बा स्टिलले ३००, सौर्य सिमेन्टले २६४ रुपैयाँ ५१ पैसा, रिद्धिसिद्धि सिमेन्टले २१४ रुपैयाँ १० पैसा, ह्याम्स हस्पिटलले २८८, नेपाल ब्रोडकास्टिङ च्यानलले ५०, कैलाश हेलिकप्टरले ३२७, शिवम् होल्डिङ्सले २१०, र छायादेशी कम्प्लेक्सले ४०० रुपैयाँमा आईपीओ प्रस्ताव गरेका छन्।
यति धेरै कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा रहेका कारण धितोपत्र बजारमा लगानीकर्ताको ध्यान अहिले बोर्डको निर्णयतर्फ मोडिएको छ। यसले आईपीओमा लगानी गर्ने इच्छुक लगानीकर्ताहरुका लागि ठूलो चासोको विषय बनेको छ। धितोपत्र बोर्डले चाँडै स्वीकृति प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
































