पोखरा, मंसिर ७ – देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको र भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस प्रभावका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रको मौसम सफा रहेको छ।

विभागले दिएको जानकारी अनुसार आज दिउँसो पनि देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने तराई तथा अन्य भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। यद्यपि, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने संकेत पनि देखिएको छ।

आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहिरहनेछ भने अन्य क्षेत्रहरूमा मौसम सफा रहने अनुमान गरिएको छ। आगामी २४ घण्टाभित्र पनि यी प्रदेशका पहाडी भागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले यस्तो मौसमी अवस्थाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सम्बद्ध सबै पक्षलाई सतर्क रहन अनुरोध गरेको छ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका बासिन्दा र यात्रुहरूलाई मौसमको अवस्थाबारे सचेत रहन सुझाव दिइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0