९ मंसिर, काठमाडौं। भारतको महाराष्ट्र राज्यमा सम्पन्न विधानसभा निर्वाचनले भाजपाको नेतृत्वमा रहेको महायुति गठबन्धनलाई प्रचण्ड बहुमत दिलाएको छ। यो चुनाव परिणामले राज्यमा विगत पाँच वर्षदेखि जारी राजनीतिक उतार-चढावलाई अन्त्य गर्दै भाजपालाई सबल राजनीतिक दलको रूपमा पुनः स्थापित गरेको छ।
भाजपा, एकनाथ शिन्दे नेतृत्वको शिव सेना, र अजित पवार नेतृत्वको एनसीपीले मिलेर बनाएको महायुति गठबन्धनले २८८ सदस्यीय विधानसभा निर्वाचनमा २३५ सिट जित्दै सत्ता सुरक्षित गरेको छ। विपक्षी गठबन्धन महाविकास अघाडीले मात्र ४९ सिट जित्न सफल भयो भने अन्य स्वतन्त्र उम्मेदवारले ४ सिट जितेका छन्।
भाजपाले एक्लैले १३३ सिट जित्दै राज्यको सबैभन्दा ठूलो दलको रूपमा आफूलाई प्रमाणित गर्यो। शिव सेनाले ५७ र एनसीपीले ४१ सिट जितेका छन्। यो नतिजा भाजपाका लागि विशेष महत्त्वपूर्ण मानिएको छ, किनभने पाँच महिना अघि सम्पन्न लोकसभा निर्वाचनमा महाराष्ट्रमा भाजपाले निराशाजनक प्रदर्शन गर्दै ४८ मध्ये जम्मा १७ सिट जितेको थियो।
महायुति गठबन्धनले जित हात पार्नुका पछाडि मुख्यतः ‘मेरी प्यारी बहिनी’ योजना, हिन्दुत्वको आह्वान, ओबीसी जातिको एकता, आरएसएसको सहयोग, महिला मतदाताको ठूलो समर्थन, र विपक्षी महाविकास अघाडीको आन्तरिक विवाद जस्ता कारणहरू रहेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
‘मेरी प्यारी बहिनी’ योजना अन्तर्गत २.५ लाखभन्दा कम वार्षिक आय भएका परिवारका महिलालाई मासिक १५०० रुपैयाँ प्रदान गरिएको थियो। आगामी कार्यकालमा यसलाई २१०० रुपैयाँ पु-याउने वाचा गरिएको थियो। यो योजनाबाट राज्यका २.२५ करोड महिला लाभान्वित भएका थिए।
चुनाव प्रचारको क्रममा भाजपाले हिन्दुत्वको मुद्दालाई प्राथमिकतामा राख्दै ‘बटोगे तो कटोगे’ नारालाई प्रभावकारी ढंगले अघि सारेको थियो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु मतदाताहरूलाई एकजुट गर्न आह्वान गरे, जसले चुनावी परिणामलाई भाजपाको पक्षमा मोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ।
ओबीसी जातिको जनसंख्या राज्यमा ३८ प्रतिशत रहेको र १७५ सिटमा प्रभावशाली मानिने भएकोले भाजपाले उनीहरूलाई एकजुट गर्न विशेष पहल गरेको थियो। यसका साथै, दलित मतदाताहरू पनि भाजपाको पक्षमा देखिए।
आरएसएसको तल्लो तहसम्मको सक्रिय अभियान र महाविकास अघाडीभित्रको असन्तोषले पनि भाजपाको जीतलाई सुनिश्चित गरेको विश्लेषकहरूले बताएका छन्। महाविकास अघाडीमा सिट बाँडफाँट र नेतृत्वका विषयमा बारम्बार विवाद भएका थिए।
यो निर्वाचन परिणामले महाराष्ट्रमा भाजपाको सुदृढ उपस्थिति मात्रै नभई आगामी भारतीय राजनीतिक समीकरणमा पनि यसको प्रभाव पर्ने संकेत दिएको छ।




























