९ मंसिर, काठमाडौं। नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा थप १६८ मेगावाट बिजुली जोडिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा रसुवामा निर्माण सम्पन्न भएका तीनवटा जलविद्युत आयोजना मार्फत यो ऊर्जा राष्ट्रिय प्रणालीमा समाहित गरिएको हो।
चिलिमे जलविद्युत कम्पनीले सुरु गरेका २७० मेगावाटका चार आयोजनामध्ये १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना पूरा भई उत्पादन थालेका छन्। यी आयोजनाबाट उत्पादित बिजुली रसुवाको आमाछोदिङमो गाउँपालिका, थम्बुचेतस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा जोडिएको छ।
यसै समूहमा रहेको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना भने हाल सिन्धुपाल्चोकमा निर्माणाधीन अवस्थामा छ। यी आयोजनाहरुले नेपालको ऊर्जा आपूर्ति सुदृढ गर्दै राष्ट्रिय ग्रिडलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।




























