काठमाडौं, १२ मंसिर – सभामुख देवराज घिमिरे पाँचदिने कम्बोडिया भ्रमण सकेर मंगलबार साँझ स्वदेश फिर्ता भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीहरूले उनलाई स्वागत गरे।
सभामुख घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को ११ औं पूर्ण सत्रमा भाग लिन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुगेका थिए। भ्रमणका क्रममा उनले सो सत्रमा सम्बोधन गर्नुका साथै उच्चस्तरीय भेटघाट पनि गरेका थिए।
विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्द्धन गर्न भ्रमण सफल रहेको बताए। उनले नेपालले दशक लामो गृहयुद्धलाई शान्तिपूर्ण वार्ताबाट अन्त्य गरेको सफलता अन्य मुलुकका लागि प्रेरणादायी भएको उल्लेख गरे।
कम्बोडियाले पनि घरेलु द्वन्द्वलाई शान्तिपूर्ण रूपमा अन्त्य गरी विकास र समृद्धिको यात्रामा अघि बढिरहेको बताउँदै उनले मेलमिलापबाट पुनर्निर्माण र समृद्धि सम्भव हुने धारणा व्यक्त गरे। उनले कम्बोडियाली नेताहरूको समृद्धि यात्राबाट नेपालले धेरै सिक्न सक्ने पनि बताए।
सभामुखले विश्व समुदायलाई राजनीतिक संवाद, समावेशिता, र मेलमिलापबाट शान्ति स्थापना गर्न सकिने नेपालका अनुभव सुनाएको बताए। साथै, कम्बोडियाली सरकार र जनताले नेपालप्रति देखाएको सकारात्मक भावनाको प्रशंसा गर्दै दुई देशबीच व्यापारलगायत क्षेत्रहरूमा सहकार्य गर्न सकिने सम्भावनाबारे पनि धारणा राखे।

























