बागलुङ, १२ मंसिर – राष्ट्रिय गौरवको आयोजनामध्ये एक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा कालोपत्री कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। बागलुङ खण्डमा पर्ने १३ किलोमिटर सडकमध्ये हालसम्म १० किलोमिटर खण्डमा कालोपत्र सम्पन्न भएको छ। अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ।
निर्माण व्यवसायी राजु गौतमका अनुसार हालसम्म १० किलोमिटरमा सिङ्गल कोट कालोपत्र सम्पन्न भइसकेको छ। बाँकी तीन किलोमिटर खण्डमा पुस मसान्तसम्ममा काम पूरा गर्ने लक्ष्यका साथ निर्माणकार्य जारी छ।
लोकमार्गको बागलुङ खण्ड १४२ किलोमिटर लामो छ। सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्षअघि नै कालोपत्री सम्पन्न भएको थियो।
यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ। पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रका अनुसार उक्त खण्डमा हालसम्म ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको छ।
मध्यपहाडी लोकमार्गको तीव्र निर्माणले सडक सञ्जाललाई थप मजबुत बनाउँदै दुर्गम क्षेत्रका बासिन्दालाई यातायातको सुविधा पुर्याउने अपेक्षा गरिएको छ।





























