काठमाडौं, १२ मंसिर – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि तथा उपकरणको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्रमार्फत चलचित्र उद्योगलाई पर्यटनसँग जोड्ने गरि प्रस्तुत गर्न चलचित्रकर्मीलाई आह्वान गर्नुभएको छ। शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति पौडेलले चलचित्र उद्योगलाई पर्यटनसँग जोड्न सरकारले आवश्यक नीति, नियम र स्रोतसाधन जुटाउन सक्ने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले नेपाली चलचित्रले गाउँ-समाजका मौलिक कथा तथा चरित्रलाई प्राथमिकता दिँदै ओझेलमा परेको नेपाली भाषा, संस्कृति र परम्पराको जर्गना गर्नुपर्ने बताउनुभयो। पछिल्लो समय कथामा आधारित चलचित्रले व्यावसायिक सफलता हासिल गरेकोमा खुशी व्यक्त गर्दै उहाँले मौलिक कथा, नवीनता र सृजनशीलताले चलचित्र क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
चलचित्रलाई समाजको ऐना भन्दै राष्ट्रपति पौडेलले नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने चलचित्र निर्माणतर्फ ध्यान दिन फिल्मकर्मीलाई सुझाव दिनुभयो। आधुनिक युगमा चलचित्रले समाजको संस्कृति, पहिचान र विविधतालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन ठूलो भूमिका खेल्ने भन्दै यसबाट लाभ लिन जरुरी रहेको उहाँले बताउनुभयो।
चलचित्र क्षेत्रको विकृति र विसंगतिलाई नियमन गर्न नियामक निकायको सक्रियता आवश्यक रहेकोमा जोड दिँदै उहाँले जागरूक र प्रतिभाशाली युवालाई अवसर दिन विकास बोर्डले ध्यान दिनुपर्ने बताउनुभयो।
समारोहमा अभिनेत्री चैतीदेवी सिंहलाई दीर्घ साधना सम्मानसहित ३ लाख ७५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो। यस्तै, फिल्म प्रदर्शनका क्रममा ज्यान गुमाएका सुरेन्द्रमान तुलाधरलाई मरणोपरान्त सम्मान गरी उनकी पत्नी अनितालाई ५० हजार आर्थिक सहयोग प्रदान गरियो।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलिँदो ट्रेन्डअनुसार नेपाली फिल्मलाई सशक्त तुल्याउनुपर्नेमा जोड दिनुभयो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नयाँ फिल्म कानून संसदबाट पास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
नेपाली फिल्म क्षेत्रमा योगदान दिने तैयब शाह, केशव रायमाझी, विद्या कार्की, नारायण प्रधान, नरेन्द्र महर्जन, नन्दकिशोर प्रसाद श्रीवास्तव, भोजबहादुर गुरुङ, अमूल कार्की ढली, ध्रुवकुमार श्रेष्ठ, बुद्धि तामाङ र सविता गुरुङलाई पनि सम्मान गरियो।


























