पोखरा, १३ मंसिर। सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राई र उनको परिवार अझै फरार छन्। विभिन्न पाँच वटा सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राई र उनका परिवारका सदस्यविरुद्ध पक्राउ पुर्जी जारी भए पनि हालसम्म उनीहरूको खोजी कार्यले ठोस नतिजा दिन सकेको छैन। जीबी राईसँगै उनका पत्नी भगवती बम्जन (निशा), दाजुभाइ अनन्तबाबु र देवेन्द्रबाबु, काका भुपेन्द्रबाबु, जेठान ज्ञानबहादुर बम्जन तामाङ, दीपक लामा, तेजबहादुर बम्जन तामाङ र सासु नन्दाकुमारी बम्जनमाथि पनि ठगी प्रकरणमा संलग्न भएको आरोप छ।

जीबी राईको समूहले काठमाडौं, पोखरा, चितवन, वीरगञ्ज र बुटवलका सहकारीहरूमार्फत करोडौं रुपैयाँ ठगी गरेको छ। स्वर्णलक्ष्मी, सूर्यदर्शन, साहारा, सानो पाइला, र सुप्रिम सहकारीमार्फत करिब ८ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरिएको छ। १ अर्ब ११ करोडभन्दा बढी रकम अपचलन गरेको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा हाल प्रहरी अनुसन्धान अघि बढिरहेको छ। स्वर्णलक्ष्मी सहकारीमा ६४५ बचतकर्ताले जाहेरी दिएका थिए भने चितवनको सहारा सहकारीको ठगी प्रकरणमा पनि ३७ करोड ६५ लाख रुपैयाँभन्दा बढीको अपचलन पुष्टि भएको छ।

सहकारी ठगीको मुख्य योजनाकार मानिएका जीबी राईको समूहलाई पक्राउ गर्न इन्टरपोलमार्फत रेड नोटिससमेत जारी गरिएको छ। रेड नोटिस जारी भए पनि मलेसियामा रहेका जीबी र उनका दाजु भुपेन्द्रबाबुलाई नेपाल फर्काउन नसकिएको प्रहरीले जनाएको छ। यसअघि, एसपी नरहरि रेग्मी नेतृत्वको टोली मलेसिया पठाइए पनि जीबीलाई नेपाल ल्याउने प्रयास असफल भएको थियो।

जीबी राईको परिवारका केही सदस्य विदेशमा लुकेको आशंका गरिएको छ। उनका जेठान तेजबहादुर बम्जन युरोप पुगेको बताइन्छ भने ज्ञानबहादुर बम्जन अमेरिका पुगेको स्रोतले जानकारी दिएको छ। अन्य केही सदस्य नेपालमै लुकेका छन् भन्ने अनुमान छ।

रास्वपा सभापति रबि लामिछाने गृहमन्त्री रहदा अघिल्लो सरकारको समयमा नेपाली कांग्रेसको प्रमुख सचेतक रहुन्जेलसम्म नेता रमेश लेखकले यस विषयमा संसदमा आवाज उठाउँदै सहकारी छानबिन समितिको माग गरेका थिए। एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले प्रतिवेदन बुझाए को साढे दुई महिना भइसकेको छ । र पनि अहिलेसम्म ठगीमा संलग्न व्यक्तिहरू कानूनी दायरामा आउन सकेका छैनन्। रमेश लेखक अहिले आफै माननीय गृह मन्त्री रहेका छन् ।

जीबी राई र उनको परिवारले सहकारीका रकम दुरुपयोग गर्दै बचतकर्ताको करोडौं रकम हिनामिना गरेपछि ठूलो जनआक्रोश छ। सरकारका उच्च पदस्थ व्यक्तिसमेत यो प्रकरणमा मुछिएका छन्। गृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी समेत अनुसन्धानमा परेका छन् र अहिले प्रहरी हिरासतमा छन्।

यस विषयमा प्रहरी प्रवक्ता नवराज अधिकारीले पक्राउ पुर्जी जारी भएकाहरूको खोजी कार्य तीव्र पारिएको बताएका छन्। सहकारी ठगीमा मुछिएका सबैलाई कानूनी दायरामा ल्याइने प्रतिबद्धता प्रहरी प्रशासनले जनाएको छ।

उता बचतकर्ता बिगत दुई बर्ष देखी आफ्नो बचत फिर्ताका लागी आन्दोलनमा छन् । सरकारले सहकारी खोल्न ईजाजत दिएको र नियमन गर्न केन्द्र देखी स्थानिय तहसम्म नै ब्यवस्था गरी सहकारी को अबधारणा ल्याएकोले जनताले सहकारी लाई विस्वास गरेका हुन् । अब अहिले दोषी प्रकाउ र बचत फिर्तामा ध्यान नदिनु सरकारको कमजोरी रहेको बचतकर्ताको गुनासो रहेको छ ।

सहकारी ठगीका यी प्रकरणले सहकारी संस्थाहरूमा बचतकर्ताको विश्वास गुमाउने अवस्था सिर्जना गरेको छ। यसले ठगी रोक्न सरकार र नियामक निकायहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0