१५ मंसिर, धरान। सुनसरीको बराहक्षेत्र नगरपालिका–९, श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध अर्जुनले गोलभेँडा खेतीलाई प्रमुख आम्दानीको स्रोत बनाएका छन्।

चार बिघा क्षेत्रफलमा गरिएको गोलभेँडा खेतीबाट वार्षिक २० लाख रुपैयाँ बचत हुने अर्जुनका छोरा श्रीराम चन्द्रवंशीले बताए। खेतीमा करिब १० लाख रुपैयाँ मल, श्रमिक तथा अन्य खर्च हुने गरेको छ। गोलभेँडा प्रतिकेजी १ सय रुपैयाँमा थोक व्यापारीले फार्मबाटै खरिद गर्दै आएका छन्।

गत असोजमा आएको बाढीले करिब तीन लाख रुपैयाँ बराबरको क्षति गरे पनि अहिले उत्पादन राम्रो भइरहेको श्रीरामले जानकारी दिए। श्रीलङ्का टप्पुमा उत्पादन भएका गोलभेँडा र अन्य तरकारी धनकुटा, धरान, इटहरी, राजविराजलगायतका स्थानमा व्यापारी आफैँ खरिद गर्न आउँछन्। श्रीरामका अनुसार बेमौसममा गोलभेँडा प्रतिकेजी १ सय ५० रुपैयाँसम्म बिक्री हुने गर्दछ।

श्रीलङ्का टप्पु तरकारी उत्पादनका लागि प्रख्यात रहेको नगरप्रमुख रमेश कार्कीले बताए। उनले स्थानीय किसानलाई आत्मनिर्भर बनाउन सिँचाइ सुविधा, जैविक खेतीमा अनुदान, प्राविधिक परामर्श, र बजारीकरणमा सहयोग गरिरहेको जानकारी दिए। कृषि ज्ञान केन्द्रका अनुसार असोजको बाढीले बराहक्षेत्रमा ४.५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।

कृषक अर्जुनको परिवारसहित २० जनाले रोजगारी पाएका छन्। श्रीलङ्का टप्पुका ९० प्रतिशत परिवार तरकारी खेतीमा संलग्न छन्। उनीहरूको अथक परिश्रम र सरकारी सहायताले क्षेत्र तरकारी उत्पादनमा अग्रणी बनेको छ।

– रासस 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0