१५ मंसिर, रसुवा। हिमाली क्षेत्रको अवलोकनका लागि लाङटाङ र गोसाइँकुण्ड क्षेत्र पर्यटकहरूको गन्तव्य बन्दै आएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिर १४ गतेसम्म २२ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले यो क्षेत्र भ्रमण गरिसकेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। हाल दैनिक २५ देखि ३० पर्यटक आगमन भइरहेको छ।

निकुञ्ज प्रवेश शुल्कबाट यस वर्ष एक करोड ६८ लाख ७५ हजार आठ सय राजस्व संकलन भएको छ। नेपाली पर्यटकका लागि १ सय, सार्क राष्ट्रका लागि १ हजार ५ सय र अन्य देशका लागि ३ हजार शुल्क निर्धारण गरिएको छ।

असोजदेखि पुस र फागुनदेखि जेठसम्म पर्यटकको चहलपहल बढ्ने यो क्षेत्रमा हिमश्रृंखला, ताल तलैया, स्थानीय भेषभूषा, परिकार, र प्राकृतिक सम्पदाले पर्यटकलाई आकर्षित गरिरहेको छ।

पर्यटकीय मार्गका होटल र लज सञ्चालनमा रहेकोले पर्यटकलाई खान र बस्न कुनै समस्या नभएको होटल व्यवसायी संघका अध्यक्ष निसान गजुरेलले जानकारी दिए।

पर्यटकलाई फोहर व्यवस्थापन, वनस्पति संरक्षण, र जनावरप्रतिको दयालु व्यवहारमा ध्यान दिन वरिष्ठ संरक्षण प्रमुख श्यामकुमार साहले आग्रह गरेका छन्।

– रासस

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0