१५ मंसिर, काठमाडौं। कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्रांगणमा मंसिर २२ गते शनिबार ‘एकै स्वरमा, कीर्तिपुरमा’ शीर्षकमा बृहत् सांगीतिक कन्सर्ट हुने भएको छ। कर्मा व्याण्ड र कुटुम्ब सांगीतिक समूहले एकसाथ प्रस्तुति दिने यस कन्सर्टको अन्तिम तयारी पूरा भएको व्यवस्थापक एएसक्युका प्रबन्ध निर्देशक आशिष पराजुलीले जानकारी दिएका छन्।

कीर्तिपुर नगरपालिकाको प्रवर्द्धन र आदि ग्रुप प्रालिको व्यवस्थापनमा आयोजना हुने कन्सर्टमा कर्मा व्याण्डका चर्चित गीतहरू ‘हुक्का मेरो डल्ले डल्ले…’, ‘मौनता…’ लगायतका लोकप्रिय भाकाहरू गुञ्जिने छन्। कर्मा व्याण्डको सशक्त फ्युजनसँगै कुटुम्बले मादल, बाँसुरी र सारङ्गीको धुनमार्फत मौलिक सांगीतिक प्रस्तुति दिनेछ।

कन्सर्टमा कीर्तिपुरको स्थानीय संस्कृति झल्काउने परम्परागत नृत्य, लाखे, धिमे तथा झाँकी पनि प्रस्तुत गरिने आयोजकले बताएका छन्। १५ हजारभन्दा बढी दर्शकलाई स्वागत गर्ने लक्ष्य राखिएको कन्सर्ट डिजिटल माध्यमबाट विदेशमा रहेका लाखौँ नेपालीले हेर्न सक्नेछन्।

गैरनाफामूलक उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम दृष्टिविहीन बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउनसमेत केन्द्रित रहेको छ। कन्सर्टले कीर्तिपुरको सांस्कृतिक, सांगीतिक धरोहरलाई जीवन्त बनाउँदै युवापुस्तामा ऊर्जा र एकता थप्ने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0