१५ मंसिर, पोखरा। पोखरा २५ याम्दीमा शुक्रबार साँझ जेब्राक्रसबाट बाटो काट्दै गर्दा ट्रकको ठक्करबाट ५५ वर्षीया धनकुमारी बुढाको मृत्यु भएको छ। मृत्यु हुने चर्चित सामाजिक अभियन्ता गिभिना मगरकी आमा हुन् । कास्की प्रहरीले दिएको जानकारी अनुसार, बुढा पूर्वी रुकुमकी स्थायी निवासी हुन् र हाल पोखरा २५ याम्दीमा बस्दै आएकी थिइन्।
घान्द्रुकबाट पोखरा आइरहेको ग२ख १४६० नम्बरको आइचर ट्रकले उनलाई जेब्राक्रसमा ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी बुढालाई स्थानीयले मणिपाल शिक्षण अस्पताल पुर्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
साथै, उक्त घटनामा आमा धनकुमारीको मृत्युको खबर सुनेपछि उनका छोरा २६ वर्षीय रामकुमार बुढाले आत्महत्या गरेका छन्। कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले मृत्युको पुष्टि गर्दै भने, ‘प्रहरीलाई बिहान मात्र खबर प्राप्त भएको थियो।’ राति १२ बजे घरमा झुन्डिएको अवस्थामा रामकुमारलाई फेला पारिएको थियो। साथै पोखरा महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सनाले पनि यस घटनाबारे जानकारी दिएका छन्।
स्थानीयले भने, राति रामकुमारको फोन गर्दा फोन नउठेपछि खोजी गरिँदा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए। मोबाइल भुँइमा खसेको अवस्थामा रहेको र यस घटनाबारे प्रहरीले अनुसन्धान थालिसकेको छ। ट्रक चालक पृथ्वीप्रसाद तामाङलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया सुरु गरिएको कास्की प्रहरीले जनाएको छ।





























