१६ मंसिर, पोखरा। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरको विकल्प खोज्ने प्रयास गरे ती देशका उत्पादनमा १०० प्रतिशत आयात कर लगाइने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल एक्समा लेख्दै यस्तो कदमलाई अमेरिकाले स्वीकार गर्न नसक्ने बताएका हुन्।
उनले डलरको विकल्प खोज्ने प्रयास अमेरिकी अर्थतन्त्रका लागि चुनौतीपूर्ण हुने भन्दै त्यसलाई रोक्न कडा कदम चालिने बताए। ब्रिक्स सदस्य राष्ट्रहरू चीन, भारत, रूस, ब्राजिल, र दक्षिण अफ्रिकाका बीचमा साझा मुद्रा निर्माणका विषयमा छलफल भइरहेको छ। यद्यपि, यसबारे हालसम्म कुनै ठोस निर्णय नभएको बीबीसीले जनाएको छ।
ट्रम्पले चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म भारी कर लगाउने आफ्नो चुनावी प्रतिज्ञा स्मरण गराउँदै, डलरविरुद्धको प्रयासलाई मूकदर्शक बनेर नहेर्ने उल्लेख गरे। रूसले पश्चिमी आर्थिक प्रतिबन्धका कारण स्थानीय मुद्रा प्रयोगलाई प्राथमिकता दिन थालेको छ भने राष्ट्रपति पुटिनले यस्तो प्रयास बाध्यता भएको बताएका छन्।
ब्रिक्स राष्ट्रहरूले सीमापार भुक्तानीका लागि नयाँ प्रणाली विकास गर्ने प्रयास गरे पनि अक्टोबरमा रसियाको कजानमा भएको ब्रिक्स सम्मेलनमा ठोस निर्णय हुन सकेन। ट्रम्पको चेतावनीले विश्वव्यापी आर्थिक सम्बन्धमा तनाव थपिन सक्ने संकेत गरेको छ।





























