१६ मंसिर, वासिङ्टन। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका आफ्ना विश्वासपात्र काश पटेललाई संघीय अनुसन्धान विभाग (एफबीआई) को नयाँ निर्देशक बनाउन लागेको घोषणा गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा यसबारे जानकारी दिँदै पटेललाई ‘प्रतिभाशाली वकिल, अन्वेषक र अमेरिका फर्स्ट अभियानका अभियन्ता’ को रूपमा प्रशंसा गरेका छन्।
फिलहाल एफबीआईका निर्देशक क्रिस्टोफर रे छन्, जसलाई सन् २०१७ मा १० वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो। रे नेतृत्वमा एफबीआईले ट्रम्पमाथि समेत अनुसन्धान गरेको थियो, जसले गर्दा ट्रम्प र रेबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको छ। ट्रम्पले रे नेतृत्वको एफबीआईले आफ्ना समर्थक र उनीमाथि पक्षपाती अनुसन्धान गरेको आरोप लगाउँदै आएका छन्।
काश पटेल, ट्रम्प प्रशासनमा राष्ट्रिय सुरक्षा सल्लाहकार र कार्यवाहक रक्षामन्त्रीको चिफ अफ स्टाफका रूपमा काम गरिसकेका छन्। उनी ट्रम्प समर्थक रिपब्लिकनका कट्टरपन्थी धारणालाई समर्थन गर्दै आएका छन्। ट्रम्पले पटेललाई एफबीआईको नेतृत्व दिएर ‘डिप स्टेट’ भनिने सरकारी प्रणालीभित्रको पक्षपात र भ्रष्टाचारलाई उखेलेर न्याय सुनिश्चित गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
रेको नेतृत्वमा एफबीआईले ट्रम्पको मार-ए-लागो एस्टेटमा गोप्य कागजात राखेको विषयमा अनुसन्धान गरेको थियो। त्यस्तै, सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा गरिएको हिंसात्मक आक्रमणबारे पनि एफबीआईले गहिरो छानबिन गरेको थियो। ट्रम्पले यी अनुसन्धानहरूको आलोचना गर्दै एफबीआईको गतिविधिलाई पक्षपातपूर्ण बताउँदै आएका छन्।
एफबीआईले भने रेको ध्यान कार्यालयका कर्मचारी र उनीहरूको जिम्मेवारीमा केन्द्रित रहेको बताएको छ। अब काश पटेलको सम्भावित नियुक्तिले अमेरिकी अनुसन्धान निकायमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।
-एएफपी, एजेन्सी


























