काठमाडौं, १७ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान चीनको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। हिमालय एयरलाइन्सको विशेष चार्टर विमानमार्फत प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङतर्फ उडेको हो।
प्रधानमन्त्रीको उडानलाई ध्यानमा राख्दै त्रिभुवन विमानस्थलमा सुरक्षाका कारणले आधा घण्टाको लागि उडान-अवतरण रोकिएको थियो। नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रधानमन्त्री चढेको जहाज उड्नुअघि २५ मिनेट र उडेपछि ५ मिनेट अन्य उडान रोकिने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ। यसबारे सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नोटिस फर एयरमेन (नोटाम) मार्फत सूचना पठाइसकिएको जानकारी दिइएको छ। विमानस्थल बिहान १०:३५ देखि ११:०५ बजेसम्म अन्य उडानका लागि बन्द गरिएको थियो।
प्रधानमन्त्री ओलीका साथमा सरकारी पक्षबाट ४६ र निजी क्षेत्रबाट ३२ जना गरी ७८ सदस्यीय टोली सहभागी भएको छ। भ्रमण टोलीले विभिन्न द्विपक्षीय वार्ता र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीको टोली आज साँझ ६:१० बजे बेइजिङ पुग्नेछ। भ्रमणको क्रममा मंसिर १८ गते चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन्। त्यसपछि दुईपक्षीय वार्ता र सम्झौता हस्ताक्षर कार्यक्रम हुनेछ। सोही दिन प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गर्ने छन् भने जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ।
मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नेछन्। त्यसपछि बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड, र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्नेछन्। साथै, सोही दिन सङ्ग्रहालय भ्रमण गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओली मंसिर २० गते दिउँसो २:३० बजे स्वदेश फर्किने छन्। चार दिने औपचारिक भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


























