पोखरा, १७ मंसिर। मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदर्शन अपेक्षा अनुरूप रहेन। ४४ पदका लागि भएको उपनिर्वाचनमा रास्वपाले २७ स्थानमा उम्मेदवारी दिए पनि केवल काठमाडौं महानगरपालिका–१६ को एउटा वडा मात्र जित्न सफल भयो। अधिकांश स्थानमा पार्टीको जमानत जफत हुनुका साथै कतिपय क्षेत्रमा १०० मत पनि कटाउन नसक्नुले पार्टीभित्र गहिरो समीक्षा आवश्यक भएको देखाएको छ।
रास्वपाका नेताहरूका अनुसार यो उपनिर्वाचनले पार्टीलाई तल्लो तहसम्म सँगठन विस्तारको आवश्यकता रहेको पाठ सिकाएको छ। कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी भन्छन्, “संगठन तल्लो तहसम्म पु¥याउन सकेको छैन। यसपटक हामीले अपेक्षित नतिजा प्राप्त गर्न नसके पनि यो हाम्रो लागि अनुभवको स्रोत बनेको छ।”
रास्वपाका लागि यो स्थानीय तहको पहिलो सहभागिता थियो। गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित सफलता प्राप्त गरेको पार्टीले यसपटक भने पुराना दलहरूको दबदबा तोड्न सकेन। पार्टी सभापति रवि लामिछानेमाथि लागेको विभिन्न आरोपले उपनिर्वाचनमा असर गरेको विश्लेषण गरिएको छ।
पार्टी सभापति लामिछानेका वाकपटुतासहित पुराना दल र नेतालाई विकल्पका रूपमा अघि बढेको रास्वपाले यसपटक भने आफ्ना एजेन्डाहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न सकेन। यसले मतदातामा रास्वपाप्रतिको आकर्षण खस्किएको संकेत गरेको छ। लामिछाने अहिले सहकारी घोटालासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा छन्, र यसले पार्टी छविमा गम्भीर क्षति पुर्याएको छ।
राजनीतिक विश्लेषक पिताम्बर भण्डारीका अनुसार उपनिर्वाचनले रास्वपाको संगठनात्मक कमजोरी उजागर गरेको छ। “काठमाडौं १६ मा जित्नुले सहरका मतदाताले पुराना दलहरूप्रति वितृष्णा राखेको देखाउँछ। तर, बाहिरी भूभागमा संगठन कमजोर हुँदा जमानत जफत भएको छ,” भण्डारीले भने।
अन्य विश्लेषक डम्बर खतिवडाका अनुसार पुराना दलप्रति जनता दिक्दारी देखिए पनि रास्वपाजस्ता नयाँ पार्टीले अपेक्षित विश्वास दिलाउन सकेका छैनन्। “जनता विकल्प खोजिरहेका छन् तर, ती विकल्प अझै गुणस्तरीय छैनन् भन्ने संकेत यो उपनिर्वाचनले गरेको छ,” खतिवडाले थपे।
यस उपनिर्वाचनको नतिजा रास्वपालाई गम्भीर आत्मसमीक्षा र सुधारको बाटो रोज्न प्रेरक बनेको छ। नेतृत्वमाथिको विश्वास, संगठन विस्तार, र ठोस एजेन्डा प्रस्तुत गर्ने क्षमताले मात्र रास्वपालाई आगामी दिनमा प्रभावकारी शक्ति बनाउन सक्नेछ।































