प्रधानमन्त्री केपी शर्मा ओली आज चार दिवसीय चीन भ्रमणका लागि बेइजिङ आइपुगेका छन्। बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरे। प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसका साथै, चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्न प्रधानमन्त्री ओलीको भेटवार्ता तय भएको छ। भ्रमणका क्रममा उनले चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नेछन्।

प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेछन् भने बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड, र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, संसद सदस्यहरू, उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मीहरू सहभागी छन्।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मङ्सिर २० गते स्वदेश फर्कने तालिका रहेको छ। यस भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

स्रोत: रासस

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0