पोखरा, १९ मंसिर। पोखरा–२८ की सदिक्षा अधिकारी उच्च शिक्षाका लागि आगामी जनवरीमा अष्ट्रेलिया उड्दैछिन्। नेपालमा प्लस टु सकाएकी सदिक्षाले  ब्याचलर्सका लागि आफूले खोजेजस्तो कोर्स, अनुकुल वातारण र ब्याचलर्स नेपलमा पढ्ने ट्रेण्ड नै नेपालमा नपाएको भन्दै विदेश जान लागेको बताइन्। “यहाँ लाखौं खर्च गरेर पढेपछि २०–२५ हजार तलब मात्र पाइन्छ। अष्ट्रेलियामा भने राम्रो पढाइसँगै काम र कमाइको राम्रो अवसर छ,” उनले भनिन्।

सदिक्षा अधिकारीका लागि अष्ट्रेलिया जाने अर्को महत्त्वपूर्ण कारण भनेको अन्तर्राष्ट्रिय स्तरको शिक्षा र करिअर निर्माणका अवसरहरू हो। अष्ट्रेलियाका विश्वविद्यालयहरूले प्रदान गर्ने डिग्री विश्वभर मान्यता प्राप्त हुने भएकाले उनीजस्ता विद्यार्थीहरू भविष्यमा विश्वव्यापी प्रतिस्पर्धी बन्न सक्ने विश्वास राख्छन्। “राम्रो डिग्री र आधुनिक शिक्षण प्रणालीले मेरो व्यावसायिक जीवनलाई बलियो बनाउनेछ,” उनले भनिन्। साथै, अष्ट्रेलियामा अध्ययन गर्दा आधुनिक सीप र प्रविधि सिक्ने अवसरले उनी आफ्नो करिअरलाई थप उज्ज्वल बनाउन सक्ने आशा व्यक्त गर्छिन्।

नेपालमा अध्ययन र काम गर्दा आर्थिक तथा सामाजिक चुनौतीहरू पनि प्रमुख समस्याका रूपमा रहेको उनले उल्लेख गरिन्। “यहाँ उच्च शिक्षा लिएपछि पनि राम्रो रोजगारी पाउन गाह्रो छ,” सदिक्षाले भनिन्। नेपालमा अध्ययनपछि उचित तलब र जीवनस्तर सुधार गर्न कठिन भएकाले अष्ट्रेलिया जस्तो देशमा गएर अध्ययन र काम दुवै गर्ने योजनाले व्यावहारिक भविष्य सुनिश्चित हुने उनी विश्वास गर्छिन्।

पढाइसँगै काम गर्ने सुविधाले पनि अष्ट्रेलियालाई उनको प्राथमिकतामा राखेको छ। त्यहाँ पढ्दापढ्दै कानुनी रूपमा काम गर्न पाउने सुविधा, कामको समयको लचिलोपन, र बिदामा पूर्ण समय काम गर्न पाउने व्यवस्था नेपालमा भन्दा निकै फाइदाजनक भएको उनको भनाइ छ। “अध्ययनको खर्च आफैंले व्यहोर्न सक्ने अवस्था बनाउँछ,” उनले भनिन्। यसले परिवारलाई आर्थिक भार कम गर्न मात्र होइन, स्वावलम्बनको भावना विकास गर्न पनि सहयोग पुग्ने उनको धारणा छ।

विदेशमा अध्ययनपछि नेपाल फर्कने सोच भए पनि अष्ट्रेलियामा उपलब्ध काम र स्थायित्वका अवसरहरूले धेरै विद्यार्थीहरू उतै बस्न प्रोत्साहित गर्छ। सदिक्षाले भनिन्, “नेपालमा श्रमको उचित मूल्य पाइँदैन। त्यसैले, अध्ययनपछि केही वर्ष काम गर्ने र स्थायी बसोबासको प्रक्रिया अगाडि बढाउने मेरो योजना छ।” विदेशमा आर्जन गरेको सीप र ज्ञानले नेपालमा योगदान दिन चाहे पनि यहाँ अवसरहरूको अभावले पुनः उतै फर्किनुपर्ने अवस्था हुने उनी बताउँछिन्।

सदिक्षाजस्तै धेरै नेपाली विद्यार्थीको पहिलो रोजाइ अष्ट्रेलिया बन्दै गएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तथ्यांक अनुसार गत तीन महिनामा मात्र अष्ट्रेलियाका लागि २,२६२ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ लाख १२ हजार ५९३ एनओसी जारी भएकोमा १४,३७२ एनओसी अष्ट्रेलियाका लागि जारी भएको थियो।

पछिल्लो समय अष्ट्रेलियाले भिसा दिने प्रक्रियामा कडाइ गरेको भन्ने चर्चा भए पनि यो गलत रहेको क्यापिटल एजुकेशन एण्ड माईग्रेसन अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत तथा रजिष्ट्रर माइग्रेशन एजेन्ट नवीन पौडेल बताउँछन्। “२०२५ मा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या क्याप सिस्टम गर्ने नीति लागू हुने भनिएको थियो। यसै कारण केही विश्वविद्यालयले भर्ना रोकका थिए। तर अहिले त्यो समस्या समाधान भइसकेको छ,” उनले भने।

नेपालबाट भिसा आवेदन गर्दा हाल ९० प्रतिशत विद्यार्थीको भिसा लागिरहेको छ। तर अष्ट्रेलिया पुगिसकेपछि भिसा थप्न भने कठिनाइ हुने गरेको पौडेलले बताए। “विद्यार्थीले विश्वविद्यालय, कलेज, वा कोर्स परिवर्तन गरेपछि भिसा थप्न गाह्रो हुन सक्छ। नेपालबाटै भिसा लाग्ने सम्भावना धेरै रहेको देखिन्छ,” उनले भने।

पौडेलका अनुसार नेपाली विद्यार्थीहरूका लागि अष्ट्रेलिया प्रमुख गन्तव्यको रूपमा स्थापित हुनुमा यहाँको उच्चस्तरीय शिक्षा प्रणाली प्रमुख कारण हो। “अष्ट्रेलियाका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय स्तरको डिग्री प्रदान गर्ने मात्र होइन, विद्यार्थीलाई आधुनिक प्रविधि र अनुसन्धानमूलक शिक्षा दिन अत्याधुनिक संरचना र प्रविधिमा जोड दिएका छन्। यसले विद्यार्थीहरूलाई प्रतिस्पर्धी र व्यावसायिक रूपमा बलियो बनाउन मद्दत पुर्‍याउँछ,” पौडेलले भने।

विद्यार्थीहरूलाई अध्ययनसँगै काम गर्न पाउने अवसरले पनि अष्ट्रेलियाको आकर्षणलाई थप बलियो बनाएको छ। पौडेलका अनुसार, “अष्ट्रेलियामा विदेशी विद्यार्थीहरूले दुई हप्तामा ४८ घण्टासम्म काम गर्न पाउँछन्, जसले उनीहरूलाई स्वावलम्बी बन्न मद्दत गर्छ। नेपालमा ठूलो लगानी गरेर पढाइ गरे पनि सन्तोषजनक कमाइ नहुने अवस्थामा, अष्ट्रेलियामा अध्ययन र कामको सन्तुलनले उनीहरूको भविष्यलाई सुरक्षित बनाउँछ।”

शिक्षा पूरा भएपछि करिअर निर्माणका लागि अष्ट्रेलियाले थप अवसरहरू प्रदान गर्नु अर्को प्रमुख आकर्षण हो। “विद्यार्थीहरूले अध्ययनपछि दुई-तीन वर्षसम्म कानुनी रूपमा काम गर्न पाउँछन्। पढाइ सकेपछि कामको अवसर मिल्छ त्यो बेला गएको खर्च उठाउने अवसर छ । यस अवधिमा अनुभव र सीप आर्जन गर्न सकिन्छ, जसले उनीहरूको व्यावसायिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसबाहेक, स्थायी बसोबास (पीआर) प्रक्रियाको सहजताले पनि अष्ट्रेलियाको रोजाइलाई बढावा दिएको छ,” पौडेलले थपे।

अष्ट्रेलियाको समावेशी र बहुसांस्कृतिक समाजले नेपाली विद्यार्थीहरूलाई सहज अनुभव दिन सहयोग गरेको छ। “विदेशी विद्यार्थीहरूका लागि यहाँको वातावरण सुरक्षित र सहनशील छ। सांस्कृतिक विविधतालाई सम्मान गर्ने र भौतिक तथा मानसिक स्वास्थ्यमा ध्यान दिने प्रणालीले विद्यार्थीहरूलाई घरजस्तै वातावरण दिएको महसुस हुन्छ,” पौडेलले बताए।

सुलभ शुल्क संरचना र छात्रवृत्तिको उपलब्धताले पनि अष्ट्रेलियालाई नेपाली विद्यार्थीहरूको पहिलो रोजाइमा राखेको पौडेलको भनाइ छ। “अष्ट्रेलियाका विश्वविद्यालयहरूले छात्रवृत्ति प्रदान गर्ने भएका कारण आर्थिक भार कम हुन्छ। महँगो विश्वविद्यालय जान नसक्ने विद्यार्थीले छात्रवृत्तिको आधारमा उपयुक्त कलेज र कोर्स छनोट गर्न सक्छन्। यो आर्थिक र शैक्षिक दृष्टिकोणले विद्यार्थीहरूका लागि उत्कृष्ट विकल्प हो,” उनले भने। यसरी अध्ययन, काम, र भविष्य निर्माणका लागि भरपर्दो वातावरणका कारण अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको लागि पहिलो प्राथमिकतामा परेको पौडेलले बताए।

विद्यार्थीले डिग्री पूरा गरेपछि दुई–तीन वर्ष काम गर्न पाउने भएकाले धेरैले खर्च उठाएर पीआर (स्थायी आवास) प्रक्रियामा जाने सोच बनाउने गरेका छन्।

अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि दुई महिनाको आईएलटीएस वा पीटीई परीक्षा पास गर्नुपर्छ। प्लस टुपछि १ वर्षको अध्ययन ग्याप भए पनि त्यसलाई मान्य गरिन्छ। स्नातकका लागि पाँच वर्षसम्मको ग्याप स्वीकृत भए पनि काम गरेको प्रमाण देखाउनुपर्ने पौडेलले बताए।

अष्ट्रेलियामा १ वर्षको शिक्षण शुल्क नेपाली रुपैयाँ १३ लाखदेखि ३५ लाखसम्म पर्छ। “आफ्नो आर्थिक क्षमताअनुसार कलेज रोज्न सकिन्छ। छात्रवृत्ति पाउने विद्यार्थीलाई थप राहत मिल्ने भएकाले सही परामर्श लिने आवश्यक छ,” पौडेलले भने।

विद्यार्थीको बाध्यता र अपेक्षा

विद्यार्थीहरूको विदेश जानु रहरभन्दा बाध्यता भएको उनीहरू स्वयंले बताउँछन्। पोखरा-२८ की सदिक्षाले नेपालको शैक्षिक प्रणाली र रोजगारीका अवसरहरू सीमित हुँदा विदेश जानुको विकल्प नरहेको बताइन्। “नेपालमा पढाइ र कामको राम्रो अवसर भएको भए म आफ्नो देश छोडेर अर्काको देश जानुपर्ने थिएन। तर यहाँ त्यो सम्भावना देख्दिनँ,” उनले भनिन्। उनका अनुसार, नेपालमा शैक्षिक र व्यावसायिक सम्भावनाको कमीले नेपाली विद्यार्थीलाई विदेशीन बाध्य बनाएको छ।

विद्यार्थीहरू विदेश गएर डिग्री र सीप हासिल गरेर फर्किन चाहन्छन् भन्ने धारणा पनि रहेको क्यापिटल एजुकेशन एण्ड माईग्रेसन अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत तथा रजिष्ट्रर माइग्रेशन एजेन्ट नवीन पौडेलले बताए। “विद्यार्थीहरू अष्ट्रेलिया आँउदा पढाइपछि नेपाल फर्केर आफ्नो ज्ञान र सीप देशको विकासमा लगाउन चाहन्छन्। तर पढाइ पूरा गरेपछि उतै उपलब्ध हुने अवसरहरूले उनीहरूलाई फर्किन कठिन बनाउँछ,” उनले भने।

अष्ट्रेलियामा पढाइ पूरा गरेपछि विद्यार्थीलाई दुईदेखि तीन वर्षसम्म काम गर्न पाउने कानुनी सुविधा हुन्छ। पौडेलका अनुसार, “यो अवधिमा विद्यार्थीहरूले पर्याप्त व्यावसायिक अनुभव र आर्थिक स्थायित्व हासिल गर्न सक्छन्। यसले उनीहरूलाई स्थायी बसोबास (पीआर) प्रक्रियामा सहभागी हुन प्रेरित गर्छ। नेपालमा फर्किएर पनि अपेक्षित अवसर नपाउने हुँदा पुन: विदेश फर्कने स्थिति पनि उत्पन्न हुन्छ।”

क्यापिटल एजुकेशन एण्ड माईग्रेसन पोखराकी काउन्सिलर सितल नेपालीले नेपालको श्रम बजारले विद्यार्थीहरूको सीप र दक्षतालाई उचित सम्मान गर्न नसक्दा धेरैजसो विद्यार्थी अष्ट्रेलियामा स्थायीत्व खोज्ने गरेको बताइन्। “नेपालमा श्रमको उचित मूल्याङ्कन नहुँदा विद्यार्थीहरू आफ्नो करिअर निर्माणका लागि विदेशमा बसेर काम गर्न चाहन्छन्। यही कारणले धेरै विद्यार्थीले अष्ट्रेलियामा पीआर प्रक्रियामा सहभागी हुने निर्णय लिन्छन्,” उनले भनिन्।

विद्यार्थीहरूको विदेश जाने प्रवृत्तिमा कमी ल्याउन नेपालमा शैक्षिक र रोजगारीका अवसरहरू विस्तार गर्न आवश्यक रहेको पौडेलले जोड दिए। “नेपालमा गुणस्तरीय शिक्षाको विस्तार र विद्यार्थीका लागि उचित रोजगारीका अवसर सिर्जना भए मात्र विदेश जाने बाध्यता घट्नेछ। विद्यार्थीहरू आफ्नै परिवार र समाजसँग रहेर पढ्न र काम गर्न पाउने वातावरण निर्माण गर्नु जरुरी छ,” उनले भने।

सदिक्षा अधिकारीजस्ता विद्यार्थीहरूलाई नेपालमा अपेक्षाअनुसारको अवसर प्राप्त नभएकै कारण अष्ट्रेलिया जानुपर्ने निर्णय गर्नुपरेको काउन्सिलर सितल नेपालीले पनि समर्थन गरिन्। “यहाँ डिग्री गरेपछि पनि विद्यार्थीहरूले कामका लागि संघर्ष गर्नुपर्छ। त्यसैले उनीहरूले विदेश जानु बाध्यता ठानेका छन्। अष्ट्रेलिया जस्तो देशले उनीहरूको अध्ययन र करिअरका लागि उपयुक्त वातावरण दिएको छ,” उनले भनिन्।

विद्यार्थीहरूले विदेश गएर सीप र ज्ञान आर्जन गरेपछि नेपाल फर्केर योगदान पुर्‍याउन सके मात्र दीर्घकालीन रूपमा देशको आर्थिक र सामाजिक प्रगतिमा सकारात्मक प्रभाव पर्ने पौडेलको विश्वास छ। “नेपालले सक्षम जनशक्ति विदेश पठाउने मात्र होइन, तिनीहरूलाई पुन: देश फर्काउन र उपयोग गर्न सक्ने प्रणाली निर्माण गर्न आवश्यक छ। यसले नेपाललाई स्वावलम्बी र समृद्ध बनाउने दिशामा अघि बढ्न सहयोग पुर्‍याउनेछ,” तर अहिलेका लागि अष्ट्रेलिया पढाइ र करिअरका लागि उपयुक्त गन्तव्य बनेको छ।” उनले भने

प्लस टुपछि अष्ट्रेलिया जाने विद्यार्थीको संख्या मास्टर्स अध्ययन गर्ने विद्यार्थीको तुलनामा धेरै छ। स्नातक कार्यक्रम चार वर्षसम्मको हुने र महँगो पर्ने हुँदा मास्टर्समा जाने विद्यार्थी कम खर्चमा छिटो पढाइ पूरा गर्न सक्ने भएकोले आकर्षित हुने गरेको पौडेलले बताए।

“विदेश जान चाहने विद्यार्थीले अध्ययनको उद्देश्यलाई पहिलो प्राथमिकता दिनुपर्छ। सही परामर्श र योजना बनाएर पढाइलाई उपयोगी बनाउन सकिन्छ,” पौडेलले थपे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0