पोखरा, १९ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने सम्झौतामा हस्ताक्षर भएको बताएका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा बेइजिङमा आयोजित ‘रिसेप्सन’ समारोहमा प्रधानमन्त्री ओलीले दुई देशका सम्बन्धलाई थप मजबुत र गहिरो बनाउने भ्रमण सफल भएको उल्लेख गरे। उनले नेपाल राजनीतिक स्थिरता र समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै चीनसँगको लगानी र सहकार्यलाई प्रगाढ बनाउन लागेको बताएका छन्।
साथै, प्रधानमन्त्री ओलीले सन् २०२५ मा चीनबाट नेपालमा ठूलो संख्यामा पर्यटक ल्याउने तयारी भएको जानकारी दिए। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पनि भ्रमणले दुई देशका सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताइन्। नेपाल र चीन बीच ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ (बीआरआई) सहकार्यको फ्रेमवर्क सहित विभिन्न क्षेत्रमा सम्झौतासमेत भएको थियो।
बिबिसीका अनुसार, भ्रमणका क्रममा नेपाल र चीन बीच आपसी विश्वास र समझदारी थप वृद्धि भएको छ।
































