पर्सा, २० मंसिर। पर्सास्थित सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका फरार साझेदार गितेन्द्रबाबु राई (जीबी)सहित १४ जनाविरुद्ध जिल्ला अदालत पर्साले बुधबार पक्राउ पूर्जी जारी गरेको छ।
यस प्रकरणमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनालमाथि पनि अनुसन्धानको लागि पक्राउ अनुमति मागिएको थियो। पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार अदालतले आवश्यक अनुसन्धानका लागि पक्राउको आदेश दिएको हो।
सानोपाइला सहकारी ठगी प्रकरणमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको स्वर्णलक्ष्मी, भरतपुरको सहारा र पर्साको सानोपाइला सहकारीमा ठगीको आरोप लागेका छन्। यस प्रकरणमा रवि लामिछाने र छविलाल जोशीलाई कास्की प्रहरी हिरासतमा राखेर चितवन लगेर दुई दिनदेखि बयान लिइएको छ। बयानका क्रममा रवि समर्थकले प्रदर्शन गरेका थिए, जसमा ५० भन्दा बढी प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।
प्रकरणमा मुख्य आरोपीका रूपमा रहेका जीबी राई, छविलाल जोशी, रवि लामिछाने र कुमार रम्तेलमाथि ४३७ जनाले ठगीको जाहेरी दिएका छन्। पर्सा प्रहरीले ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको उजुरीका आधारमा अनुसन्धान गरिरहेको छ।
मुख्य आरोपी जीबी राई अहिले मलेसियामा लुकेको बताइए पनि पत्ता लागेको छैन। कास्की जेलमा रहेका रम्तेल र पक्राउ परेका अन्य अभियुक्तहरूलाई पर्सा लगेर थप बयान लिइनेछ। ठगी प्रकरणमा संलग्नता पुष्टि भए कानुनी कारबाही हुने अनुमान गरिएको छ।
































