पोखरा, २१ मंसिर। सिरियामा पछिल्लो केही दिनको घटनाक्रमले राजनीतिक र सैनिक स्थायित्वलाई पूर्णरूपमा उल्टाइदिएको छ। सिरियाली सरकारका अधिकारीहरूले हमामा सेना टिक्ने दाबी गरिरहेकै बेला इस्लामवादी समूह हायत तहरिर अल-शाम (एचटीएस) नेतृत्वको बिद्रोही समूहले उक्त शहर नियन्त्रणमा लिएको छ। बीबीसीका अनुसार सिरियाली सेनाले हमाबाट फिर्ता भएको स्वीकार गरेपछि उक्त शहर पहिलो पटक बिद्रोहीहरूको नियन्त्रणमा पुगेको हो।

हप्ताको अन्तरालमा दुई प्रमुख शहर कब्जा गरेपछि बिद्रोहीहरूको अर्को लक्ष्य होम्स रहेको छ। होम्सको महत्व भौगोलिक रूपमा अत्यन्तै रणनीतिक छ, किनकि यसले असद शासनका मुख्य आधार क्षेत्र र राजधानी दमास्कस जोड्ने बाटोलाई नियन्त्रणमा राख्छ।

एचटीएसले आफ्ना पूर्वयोजना परिवर्तन गर्दै अब राष्ट्रपति बसर अल-असदलाई सत्ताच्युत गर्ने प्रत्यक्ष प्रयासमा उत्रिएको छ। एचटीएसका नेता अबु मोहम्मद अल-जावलानीले सीएनएनलाई दिएको अन्तर्वार्तामा असद शासनलाई हटाउने उद्देश्य रहेको पुष्टि गरेका छन्।

सिरियाली सेनाको अवस्था कमजोर रहेको छ। कम वेतन, न्यून स्रोतसाधन र कमजोर मनोबलका कारण सेनाले लामो समयअघि नै युद्ध हार्ने स्थिति आइसकेको थियो। बाह्य समर्थनका कारण मात्र असद शासन टिकिरहेको छ। हमामा रुसी सेनाको हवाई समर्थन भए पनि त्यसले निर्णायक प्रभाव पार्न सकेन।

बीबीसीका अनुसार, युक्रेनमा तीन वर्षदेखि जारी युद्धले रुसको स्रोतसाधनमा दबाब सिर्जना गरेकाले उसले सिरियामा २०१५ मा जस्तै निर्णायक भूमिका खेल्न सक्ने देखिँदैन। तर, सिरियाको तर्तुस बन्दरगाहमा रहेको रुसी नौसैनिक बेस सुरक्षित राख्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले असदलाई समर्थन जारी राख्ने सम्भावना प्रबल छ।

सिरियाली सरकारका अर्को मुख्य सहयोगी इरान र यसले समर्थन गरेका मिलिसिया समूहहरूको भूमिका पनि महत्त्वपूर्ण छ। तर, हाल इरान क्षेत्रीय विवादहरूमा प्रत्यक्ष संलग्नता घटाउने रणनीतिमा लागेको छ। लेबनानी समूह हिजबुल्लाहका केही इलीट फौजहरू होम्समा पुगेको जानकारी भए पनि समूहको क्षमता पहिलेको जस्तो बलियो छैन।

अर्को महत्त्वपूर्ण विषय बिद्रोही समूहहरूबीचको विभाजन हो। एचटीएस र इद्लिबबाट आएका अन्य समूहबाहेक, उत्तरपूर्वमा कुर्दिश सेना, उत्तरमा टर्की-समर्थित सिरियन नेसनल आर्मी र अन्य साना समूहहरूको उपस्थिति छ। इस्लामिक स्टेट (आईएस) समूहले पनि नयाँ द्वन्द्वको फाइदा उठाउन खोज्ने सम्भावना छ।

असद शासनलाई समर्थन गर्ने अल्पसंख्यक समूहहरू, विशेषगरी अलवाइट समुदाय, एचटीएसलाई कट्टरपन्थी ठान्दै डराएका छन्। एचटीएसले अल-कायदासँगको सम्बन्ध तोडेको भए पनि धेरैले यसलाई अतिवादी संगठनकै रूपमा हेर्दछन्।

राष्ट्रपति असदको राजनीतिक भविष्य मुख्य रूपमा बाह्य शक्ति – रुस, इरान र टर्कीको रणनीतिमा निर्भर रहने देखिन्छ। २०१८ मा इद्लिबबारे सहमति गरेका यी शक्तिहरूले नयाँ परिस्थितिमा आफ्नो रणनीति पुनः मूल्यांकन गर्नुपर्ने देखिन्छ। बीबीसीका अनुसार, ती बाह्य खेलाडीहरूले सिरिया असदसहित या असदविनाको रूप कस्तो हुने भन्ने निर्णय गर्नुपर्ने समय आइसकेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0