पोखरा, २१ मंसिर। जापानी अभिनेत्री तथा गायिका मिहो नाकायामा शुक्रबार टोकियोस्थित आफ्नै घरको बाथटबमा मृत अवस्थामा फेला परेकी छिन्। ५४ वर्षीया नाकायामाको निधनले जापानमा शोकको लहर फैलिएको छ।
बीबीसीका अनुसार, मिहो नाकायामालाई शुक्रबार काममा नपुगेपछि एक परिचितले उनको खोजी गरेका थिए। नाकायामालाई मृत भेटेपछि तत्कालै उद्धारकर्मी बोलाइएको थियो, जसले उनको घटनास्थलमै मृत्यु पुष्टि गरे। हाल उनको मृत्युको कारण अनुसन्धान भइरहेको छ।
नाकायामाले शुक्रबार ओसाकामा आयोजना हुने क्रिसमस शोमा प्रस्तुति दिने योजना बनाएकी थिइन्। तर, स्वास्थ्य समस्या देखाउँदै उनले आफ्नो कार्यक्रम रद्द गरेकी थिइन्। उनका एजेन्टले उनको वेबसाइटमार्फत प्रकाशित गरेको विज्ञप्तिमा यस घटनाबाट स्तब्ध भएको जनाउँदै मृत्युको कारण पुष्टि हुन बाँकी रहेको उल्लेख गरेका छन्।
१९८० र ९० को दशकमा जापानको जे-पप संगीतमा ख्याति कमाएकी नाकायामाले १९९५ को चर्चित फिल्म लभ लेटर बाट ठूलो सफलता हात पारेकी थिइन्। उक्त फिल्मले जापानभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि प्रशंसा प्राप्त गरेको थियो। मिहोको अभिनयका लागि उनलाई विभिन्न उत्कृष्ट अभिनेत्री पुरस्कार प्रदान गरिएको थियो।
नाकायामा जापानको १९८० को दशककी लोकप्रिय किशोरी आइडलमात्र नभई, सफल अभिनेत्रीका रूपमा पनि स्थापित थिइन्। उनी आफ्नो छोरा, जो हाल उनका पूर्वपति तथा संगीतकार हितोनारी त्सुजीको संरक्षणमा छन्, छोडेर गएकी छिन्।





























