काठमाडौं, मङ्सिर २१। धरहरा परिसरमा मंसिर ११ गते आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलको खुलेर प्रशंसा गरेका थिए। ओलीले कुशलको खेल कौशलको प्रशंसा गर्दै भनेका थिए, “पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ। मैले मात्र होइन, विश्वले नै छुट्याउन सकेको छैन जस्तो लाग्छ। यसपटक ९९ मा आउट हुन नपरोस्, शतक हान्नु, मेरो शुभकामना छ।” तर ओलीको यो प्रशंसा र शुभकामना कुशलको प्रदर्शनमा परिणत हुन सकेन।
कुशलको नेतृत्वमा रहेको पोखरा एभेन्जर्स जारी एनपीएलमा सुरुदेखि नै संघर्ष गरिरहेको छ। टोलीले अहिलेसम्म खेलेका दुवै खेलमा फराकिलो अन्तरले पराजय भोगेको छ।
मंसिर १८ गते भएको पहिलो खेलमा पोखरालाई चितवन राइनोजले ८७ रनको फराकिलो अन्तरले हराएको थियो। कीर्तिपुर मैदानमा चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा ७४ रनमै समेटिएको थियो। कप्तान कुशलले पहिलो बलमै रन नबनाई ‘रोयल डक’ भएर पवेलियन फर्किँदा टिमले सुरुमै ठूलो धक्का व्यहोर्नुपरेको थियो। पहिलो ओभरमै तीन विकेट गुमाएको पोखराले चौथो ओभरसम्ममा थप तीन विकेट गुमाउँदै ६ विकेटको क्षतिमा केवल ७ रनमात्रै जोडेको थियो।
चितवनका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै पोखराका मुख्य ब्याटरहरूलाई निराश बनाए। कुशलको निराशाजनक प्रदर्शनले टिमलाई अझ दबाबमा पार्यो। अन्ततः नारायण जोशीको ३० रन र म्याथ्यु क्रिचलीको १७ रनको मद्दतले टिमको स्कोर ७४ रनसम्म पुर्याए पनि हार टार्न सकेन।
चितवनसँगको पराजयपछि पोखराले मंसिर २० गते जनकपुर बोल्ट्ससँग आफ्नो दोस्रो खेल खेल्यो। यस खेलमा पनि पोखराले निराशाजनक प्रदर्शन दोहोर्यायो। कुशल तेस्रो क्रममा ब्याटिङ गर्न आए पनि ६ बलमा मात्र ६ रन बनाएर आउट भए। पोखराले २० ओभरमा १३८ रनको लक्ष्य दिएको थियो। जनकपुरले यो लक्ष्य १७ बल बाँकी रहँदै ७ विकेटको क्षतिमा सहजै पूरा गर्यो।
पहिलो खेलमा ‘रोयल डक’ भएका कुशल दोस्रो खेलमा पनि टिमलाई उकास्न सकेनन्। मार्की खेलाडी र कप्तानको प्रदर्शन अपेक्षाअनुसार नहुँदा पोखरा लगातार पराजित भइरहेको छ। कप्तानसहित अन्य मुख्य ब्याटरहरूको कमजोर प्रदर्शनले टिमलाई अझ कठिन अवस्थामा पुर्याएको छ।
जनकपुरविरुद्ध पोखराका मार्कस क्रिटलेले ३५ रन, माइकल लिस्कले २५ रन, आन्द्रेस गौसले २० रन, रेमन रिफरले १७ रन, दिलिप नाथले ११ रन र दिनेश खरेलले १० रन बनाए। तर कुनै पनि ब्याटरले अर्धशतकसमेत बनाउन सकेनन्।
पोखराको यो निराशाजनक प्रदर्शनले कर्णाली याक्स र विराटनगर किङ्सको सुरुवातको झल्को दिएको छ। यी दुवै टोलीले पनि प्रारम्भिक दुई खेलमा हार व्यहोरेका थिए। यद्यपि, विराटनगरले आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्सलाई सनसनीपूर्ण रूपमा पराजित गर्दै पहिलो जित दर्ता गर्न सफल भएको छ।
कुशल भुर्तेलको नेतृत्वमा पोखरा एभेन्जर्सले आगामी खेलहरूमा आफ्नो प्रदर्शन सुधार गर्ने र फ्यानहरूको अपेक्षा पूरा गर्ने प्रयास गर्नुपर्ने देखिन्छ। कप्तानको व्यक्तिगत प्रदर्शन र टोलीको सामूहिक प्रयासले मात्रै पोखरालाई यो निराशाजनक अवस्था पार गर्न मद्दत गर्न सक्छ।
खबरहबका अनुसार, एनपीएलकै सबैभन्दा महँगो टोलीको रूपमा रहेको पोखरा एभेन्जर्सले निरन्तर हार व्यहोर्दा टोलीप्रति चासो र आलोचना दुवै बढेको छ। अबको खेलमा पोखराले आफ्नो प्रदर्शन सुधार्न नसके लिगमा उसको अवस्था झनै गम्भीर हुन सक्ने अनुमान गरिएको छ।

































