पोखरा, २१ मंसिर। काठमाडौंको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचन सकिएर नतिजा सार्वजनिक भइसकेको छ। प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन्। तर, यस उपनिर्वाचनलाई भन्दा कांग्रेस महामन्त्री गगनकुमार थापाको चुनावी भाषणले धेरै चर्चा पाएको छ। उनको भाषणले सामाजिक सञ्जालमा ट्रोल र समर्थन दुवै पाएको छ।
थापाले चुनावी प्रचारको क्रममा कीर्तिपुरलाई सूचना प्रविधिको माध्यमबाट समृद्ध बनाउन सकिने आफ्नो भिजन प्रस्तुत गरे। उनले भनेका थिए, “कीर्तिपुरको डाँडोबाट महिनाको दुई लाख, तीन लाख, चार लाख रुपैयाँ कमाउने युवाहरू तयार पार्न सकिन्छ। बच्चाहरू कतार, मलेसिया, इजरायल जानुपर्ने अवस्थाको अन्त्य गरेर यहीँ बसेर आम्दानी गर्ने अवसर सिर्जना गर्न सकिन्छ।”
थापाको यो भनाइलाई कतिपयले भविष्यको सम्भावना र विकासको योजना भन्दै समर्थन गरे। केहीले भने यसलाई अवास्तविक सपना बताउँदै मजाक उडाए। पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा लेखे, “अब त कीर्तिपुरे डाँडोमा कुस्त पैसा फल्ने भयो। यस्तो सपना देखाएर मेयर जिताउने नेता मात्रै भाषण दिन सक्ने देखिन्छ।”
भीम उपाध्यायको टिप्पणीलाई खण्डन गर्दै किरण शर्माले भने, “आईटी क्षेत्रमा सीप भएका युवाहरूले घरमै बसेर राम्रो आम्दानी गरिरहेका छन्। थापाको विचारलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा मजाक गर्नु युवाहरूलाई निराश बनाउने काम हो।”
सूचना प्रविधि विज्ञ उत्तम कार्कीले गगन थापाको भनाइलाई सान्दर्भिक र यथार्थपरक ठहर गरे। उनले भने, “कोभिडपछि अनलाइन कामको अवसर धेरै बढेको छ। आईटी क्षेत्रमा सीप भएका विद्यार्थीहरूले अहिले नै घरमै बसेर महिनामा दुईदेखि चार लाख रुपैयाँसम्म कमाइरहेका छन्।” कार्कीका अनुसार हार्डवेयर, सफ्टवेयर विकास, ग्राफिक डिजाइनिङ, एनिमेसन, टेलिमेडिसिन सेवा, र अनलाइन मार्केटिङजस्ता कामबाट नेपालमा ठूलो आर्थिक सम्भावना छ।
प्रविधि व्यवसायी प्रमोद पोखरेलले भने सरकारको नीति र प्रवर्द्धनको अभावमा आईटी क्षेत्रमा प्रगति व्यक्तिगत प्रयासबाट मात्रै भएको बताएका छन्। उनले भने, “आईटी क्षेत्र आज जुन स्थानमा छ, त्यो सरकारको सहयोग बिना नै सम्भव भएको हो। गगन थापाले नजानेको विषयमा बोलेका कारण ट्रोल हुनुपर्यो, तर उनको भनाइ असम्भव भने होइन।”
पोखरेलका अनुसार, “मेरा धेरै साथीहरूले नेपालमै बसेर महिनामा ७ देखि १५ हजार डलर कमाइरहेका छन्। सरकारले नीतिगत सुधार गर्यो भने आईटी क्षेत्रले पर्यटन क्षेत्रभन्दा बढी योगदान दिन सक्छ।”
सामाजिक सञ्जालमा थापाको भनाइले थप बहस निम्त्याएको छ। अनिल क्षेत्री लेख्छन्, “गगन थापाले भविष्यको सम्भावनाको कुरा गरेका हुन्। गत आर्थिक वर्षमा मात्रै नेपालले करिब ८० अर्ब रुपैयाँ आईटी सेक्टरबाट आम्दानी गरेको छ। यो तथ्यले थापाको भनाइलाई बलियो बनाउँछ।”
यसैबीच, थापाको भाषणले सरकार र नीति निर्माताहरूलाई आईटी क्षेत्रप्रति ध्यान दिन प्रेरणा दिने अपेक्षा गरिएको छ। विज्ञहरूले कक्षा एकदेखि नै कम्प्युटर शिक्षा लागू गर्नुपर्ने र सूचना प्रविधिलाई विद्यालय तहमा सिकाउने सुझाव दिएका छन्।
गगन थापाको भाषणलाई लिएर समाजमा फरक प्रतिक्रिया आए पनि उनको भनाइले आईटी क्षेत्रको महत्वलाई उजागर गरेको धेरैको ठहर छ। कीर्तिपुरको डाँडोलाई नमूना बनाउनको लागि आवश्यक नीतिगत सुधार र लगानी भएमा थापाले देखाएको सपना अवश्यै यथार्थमा परिणत हुन सक्ने विश्वास गर्न सकिन्छ।




























