पोखरा, २१ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमण सकेर बिहीबार अपराह्न स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले चीनसँग भएको ‘फ्रेमवर्क अफ बीआरआई कोअपरेसन’ सम्झौता ऋणकेन्द्रित नभएको स्पष्ट पारे।

मंसिर १८ गते नेपाल र चीनले संयुक्त वक्तव्य जारी गरेसँगै मंसिर १९ गते नेपालले चीनको बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको थियो। बीआरआई फ्रेमवर्कमा यातायात, शहरी विकास र औद्योगिक विकाससँग सम्बन्धित १० आयोजना विकास गर्ने सहमति गरिएको खबरहबले उल्लेख गरेको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका अधिकारीहरूका अनुसार बेइजिङमा भएको दुईदिने गहन छलफलपछि ‘एड असिस्टेन्स फाइनान्सिङ’ शब्दावली राखेर सम्झौता गरिएको हो। प्रधानमन्त्री ओलीले भने बीआरआई परियोजनाबारे भएका सम्झौताहरू अनुदान कि ऋणमा आधारित हो भन्ने स्पष्ट पार्न सकेनन्। उनले ऋणको विषयमा छलफल नै नभएको दाबी गर्दै भने, “सँधै ऋण! ऋण!! ऋणको सारङ्गी कहाँबाट बजेको छ? हामीले पटक-पटक भनेका छौं, यो सम्झौता ऋणसँग सरोकार राख्दैन।”

तर, भ्रमण टोलीका केही अधिकारीहरूले भने बीआरआई परियोजना कार्यान्वयनका लागि चीनबाट सहुलियतपूर्ण ऋण लिने सहमति बनेको बताएको खबरहबले जनाएको छ। यसले काठमाडौंमा ‘एड असिस्टेन्स फाइनान्सिङ’ मोडालिटीबारे संशय उत्पन्न गराएको छ।

नेपालको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६ अनुसार यस्तो मोडालिटीको व्यवस्था छैन। यसै कारण बीआरआई सम्झौताबारे सत्तारुढ दल र अन्य दलबीच विवाद चुलिएको छ।

प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका परियोजनाहरू कार्यान्वयन गर्न थप सम्झौता आवश्यक पर्ने उल्लेख गरे। उनले नेपाल–चीन मित्रतालाई थप प्रगाढ बनाउन र नेपालका लागि बढी लाभ सुनिश्चित गर्न गरिएको भ्रमण फलदायी भएको दाबी गरे।

चीनको दबाब र नेपालको आन्तरिक विवादका बीच फ्रेमवर्क सम्झौतामा हस्ताक्षर हुँदा राजनीतिक वृत्तमा असन्तुष्टि देखिएको छ। यसले बीआरआई परियोजनाले भविष्यमा अमेरिकी एमसीसी परियोजनाजस्तै विवाद निम्त्याउने सम्भावना रहेको विज्ञहरूको भनाइ खबरहबले उल्लेख गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0